प्रेस चौतारीले महाधिवेशनमा ओलीको नेतृत्व पुन कायम गर्न समर्थन जनाएको छ
प्रेस चौतारीले महाधिवेशनमा ओलीको नेतृत्व पुन कायम गर्न समर्थन जनाएको छ
    • बेल संचार

    • २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौँ ।

पत्रकार संगठन प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनुपर्ने स्पष्ट धारणा सार्वजनिक गरेको छ। संगठनले देशका वर्तमान चुनौतीहरू समाधान गर्न फेरि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको हो।

शुक्रबार भएको केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठकमा अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व राष्ट्रिय आवश्यकता रहेको बताए। देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन वर्तमान परिस्थितिमा ओलीको विकल्प नभएको प्रेस चौतारीको निष्कर्ष छ।

संगठनको भनाइ अनुसार एमालेलाई एकताबद्ध गर्दै राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमता अध्यक्ष ओलीमा मात्रै रहेको छ। पाण्डेले भने, “अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ।”

उहाँले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिरताका दृष्टिले महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै सबै संरचनालाई आन्तरिक एकता र अनुशासनमा अघि बढ्न सुझाव दिए। बैठकमा भदौ २३–२४ गतेको आन्दोलन प्रतिक्रान्तिकारी भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास गरेको टिप्पणी पनि गरिएको थियो।

सङ्गठनका निवर्तमान अध्यक्ष गणेश बस्नेतले समेत ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नभएको धारणा व्यक्त गर्दै जनताले दिएको विश्वास र नेतृत्व क्षमताका कारण ओलीमाथि विभिन्न कोणबाट आक्रमण भइरहेको स्मरण गराए। उनले जेनजी आन्दोलनको क्रममा ओलीको निवासमा भएको आगजनी र प्रचण्डको घरमा भएको क्षतिका उदाहरण समेत उठाए।

महासचिव हिरामान लामाले संगठनभित्र अनुशासन र जिम्मेवारी कायम गर्न जोड दिँदै सबै सदस्यलाई स्पष्ट आचार–व्यवहार र जिम्मेवारीसहित काम गर्न आग्रह गरे।

साताकाे चर्चित
सम्बन्धित