जुम्ला
हिमा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक सार्वजनिक सुनुवाइ यही २०८२/०७/३० गते गाउँपालिकाको कार्यालय, कालिकास्थानमा आयोजित हुन लागेको जानकारी दिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ र संविधान २०७२ मा व्यवस्था भएअनुसार स्थानीय तहले प्रत्येक वर्ष कार्तिक मसान्तसम्म सार्वजनिक सुनुवाइ सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।
यसैक्रममा गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई स्थानीय शासन कार्य सम्पादन मूल्यांकन (LGPAS) का महत्त्वपूर्ण सूचकहरूमध्ये एक मानिएकोले प्राप्त हुने अनुदान, बजेट विनियोजन, कार्यक्रमको प्रभावकारिता तथा जनताप्रति उत्तरदायित्व सुनिश्चित गर्नका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।
गाउँपालिकाले दाजुभाइ, दिदीबहिनी, आमा-बुबा, युवा, सरोकारवाला निकाय तथा सबै हिमा वासीलाई आगामी सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भई आफ्ना सुझाव, गुनासा तथा आवश्यक विकास–प्राथमिकताहरू राखेर हिमा गाउँपालिकाको सुशासन र पारदर्शिता अभिवृद्धिमा सहयोग गर्न आग्रह गरेको छ।
यद्यपि केही समूहहरूले प्रारम्भिक रुपमा फरक धारणा राखे पनि, गाउँपालिकाले सार्वजनिक सुनुवाइ सबैको सरोकार हुने साझा लोकतान्त्रिक प्रक्रिया भएकाले सबैको सहभागिता अपरिहार्य भएको जनाएको छ। गाउँपालिकाले “हाम्रा कमजोरी र बलियो पक्ष दुवै सुन्ने र सुधार गर्ने अवसर” भएको भन्दै यसलाई कुनै दल, समूह वा व्यक्तिको होइन सम्पूर्ण हिमा बासीको अधिकार र जिम्मेवारीका रूपमा लिँदै सहभागी भइदिने आग्रह दोहोर्याएको छ।
कार्यक्रम विवरण :
• मिति : २०८२/०७/३० गते
• समय : बिहान १० बजे
• स्थान : हिमा गाउँपालिकाको कार्यालय, कालिकास्थान, जुम्ला
हिमा गाउँपालिकाले यस कार्यक्रममार्फत नागरिकका आवाज, गुनासा र सुझावलाई संस्थागत गर्दै आगामी योजनाहरूमा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ।