म्याग्दी ।
म्याग्दीको मङ्गला–५ र बागलुङको ताराखोला–४ को सीमामा अवस्थित तीनचुले प्राकृतिक सौन्दर्य र धार्मिक महत्व लिएर अघि बढिरहेको नयाँ पर्यटकीय गन्तव्य हो। करिब २,९३२ मिटर उचाइमा रहेको यो स्थानबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृङ्खला, सूर्योदय–सूर्यास्त र आसपासका ग्रामीण बस्ती एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ।
यहाँको प्रमुख आकर्षण गोलाकार बराहताल हो, जहाँ कात्तिक पूर्णिमामा तोरण बाँध्ने धार्मिक परम्परा छ। पानीको स्रोत नदेखिने तर कहिल्यै नसुकेकाे यो ताल स्थानीयहरूका लागि आस्थाको केन्द्र मानिन्छ।
गण्डकी प्रदेश, स्थानीय सरकार र समुदायको साझेदारीमा तीनचुलेमा मन्दिर पुनर्निर्माण, पदमार्ग, घेराबार, कच्ची सडक र पानी आपूर्ति जस्ता आधारभूत पूर्वाधार विकास भइरहेको छ। सडक विस्तारसँगै पहाडी बाटो दुई घण्टाबाट २० मिनेटमा झर्दै तीनचुलेको पहुँच अझ सहज बनेको छ।
अर्मन, ताराखोला वा बाबियाचौर हुँदै पदमार्ग वा कच्ची सडकबाट यहाँ पुग्न सकिन्छ। मार्गमा स्थानीय बासिन्दाले पाहुनालाई खाजा–खाना उपलब्ध गराउने परम्परा छ, जसले यात्रालाई झनै आत्मीय बनाउँछ।
मगर समुदायको बसोबास रहेको यो क्षेत्र प्राकृतिक दृश्य, संस्कृति, धार्मिक आस्था र गाउँको जीवनशैली नजिकबाट अनुभव गर्न चाहने पर्यटकका लागि उपयुक्त गन्तव्य बन्दै गएको छ।