जुम्ला।
सिँजा गाउँपालिका–३ र ४ को सीमामा पर्ने राइके पाखामा निर्माण भइरहेको नेपालकै विशाल नक्साले सिँजा मात्र होइन, समग्र जुम्लालाई देश–विदेशमा नयाँ पहिचान दिलाइरहेको छ। मनमोहक पहाड, हरियाली डाँडा र स्वच्छ वातावरणले सजिएको यो स्थान अहिले सामाजिक सञ्जालदेखि पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई आधार मानेर स्थानीय तहमा गरिएको यो प्रयास कर्णालीकै नमुना परियोजनाका रूपमा विकसित हुँदै छ। भारततर्फबाट भएको भूमि अतिक्रमणप्रतिको संवेदनशीलता र राष्ट्रिय स्वाभिमानलाई जोड्दै तयार भएको नयाँ नक्सालाई सिँजाले कलात्मक स्वरूपमा ढालेर संसारलाई देखाइरहेको छ।
कर्णाली राजमार्गको नाग्मा–गमगढी सडकखण्डस्थित चुलेल गाउँबाट राइके पाखाको डाँडा एकै नजरमा देखिन्छ। यही डाँडामा निर्माण भइरहेको १५० मिटर लम्बाइ र ३० मिटर चौडाइको विशाल नक्साले सिँजाको भौगोलिक सुन्दरता र सिर्जनशील क्षमतालाई झनै चम्काएको छ। पहाडको गर्भमा कोरिँदै गरेको यो नक्सा साधारण संरचना मात्र होइन—यो सिँजाको पहिचान, गर्व र पर्यटन विकासको नयाँ आधारस्तम्भ बन्दैछ।

सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार, “नक्सा निर्माणको परिकल्पना त थियो, तर बजेट कसरी जुटाउने भन्ने ठूलो चुनौती थियो।” यसबीच माननीय बिनिता कठायतसँग गरिएको पहलले निर्णायक मोड लियो। उहाँको सक्रियता तथा सहयोगमा संघीय सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएपछि परियोजना तीव्र गतिमा अघि बढेको अध्यक्ष धिताल बताउँछन्।
यस नक्साले स्वदेशी–विदेशी सबै प्रकारका पर्यटकलाई सिँजातर्फ तान्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। रारा ताल घुम्न आउने पर्यटकहरू चुलेलगाउँ वा अगष्टिवाडा आसपासमा गाडी रोकेर विशाल नक्सासँग फोटो खिच्ने क्रम बढ्दै गएको छ। उनीहरूका ती तस्वीर र भिडियो सामाजिक सञ्जालमा परेपछि राइके पाखा चर्चाको केन्द्र बनेको छ।

हाल निर्माणाधीन अवस्थामा नै यो नक्सा भाइरल भइसकेको छ। स्थानीय युवादेखि बाहिरबाट आएका भिडियो–ब्लगर, फोटो–ग्राफरहरूले निरन्तर प्रचार–प्रसार गरिरहेका छन्। यसले सिँजालाई सांस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।
राइके पाखामा कोरिँदै गरेको नेपालकै यो विशाल नक्सा नक्सा मात्र नभई—सिँजाको शान, कर्णालीको पहिचान र राष्ट्रप्रतिको सम्मानको एउटा ज्वलन्त प्रतीक बन्दै गएको छ। सिँजा अब कर्णालीकै होइन, समग्र नेपालकै गौरवमय थलोका रूपमा विश्वको नजरमा उज्यालो हुँदैछ।











