कालाञ्जर–हम्पाल जलजला क्षेत्रमा ताल निर्माणको सम्भाव्यता अध्ययन सुरु
कालाञ्जर–हम्पाल जलजला क्षेत्रमा ताल निर्माणको सम्भाव्यता अध्ययन सुरु
    • बेल संचार

    • ८ मंसिर २०८२, सोमबार

म्याग्दी।

म्याग्दी, पर्वत र कास्कीको संगम क्षेत्र मानिने कालाञ्जर–हम्पालको जलजला क्षेत्रमा ताल निर्माणका लागि औपचारिक रूपमा सम्भाव्यता अध्ययन थालिएको छ। धार्मिक महत्त्व र प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्रलाई दीर्घकालीन रूपमा आकर्षक पर्यटन गन्तव्य बनाउने उद्देश्यले अध्ययन प्रक्रिया अघि बढाइएको हो।

अध्ययनमा समावेश जनप्रतिनिधिहरूका अनुसार जलजला क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला र मोदी गाउँपालिका तथा कास्कीको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको विशाल घाँसे मैदान हो, जसको उचाइ करिब ३,२०० मिटर छ। स्थानीयस्तरबाट अघि बढाइएको प्रयासलाई थप योजनाबद्ध बनाउन यस वर्ष सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले ४० लाख रुपैयाँ बजेट छुट्याएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा सम्भाव्यता अध्ययन सुरु गरेको छ।

गत हप्ता आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यसहित स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा प्राविधिक टोलीले प्रस्तावित ताल क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीले भौगोलिक बनावट, वातावरणीय सम्भाव्यता, जलस्रोत उपलब्धता तथा टकालो प्रभावबारे प्रत्यक्ष मूल्यांकन गरेको छ।

उपाध्यक्ष आचार्यका अनुसार प्रस्तावित स्थान ताल निर्माणका लागि उपयुक्त देखिएको छ भने जलस्रोत व्यवस्थापन, वातावरणीय सुरक्षा तथा दीर्घकालीन टिकाउपनाबारे विस्तृत छलफल भइरहेको छ। आयोजना कार्यालयका प्रमुख श्रेष्ठले ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल–जलजला क्षेत्र धार्मिक आकर्षण मात्र नभई आन्तरिक तथा बाह्य दुवै खाले पर्यटकलाई तान्ने प्रमुख गन्तव्य बन्न सक्ने बताइएका छन्।

यो क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे सहितका पर्वतशृंखलाको विहंगम दृश्य देखिने भएकाले दृश्यावलोकनका दृष्टिले पनि यसको महत्व उच्च मानिन्छ। साथै, कालीगण्डकी क्षेत्रसँग सम्बन्धित पुराना धर्मग्रन्थहरू–अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्म, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा कालाञ्जर–हम्पाल क्षेत्रको उल्लेख पाइने प्राडा जगन्नाथ रेग्मीले बताएअनुसार यस क्षेत्रको सांस्कृतिक र ऐतिहासिक महत्व पनि बलियो छ।

साताकाे चर्चित
सम्बन्धित