काठमाडौँ ।
काठमाडौँको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ कम्प्युटर प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हास्मीले शनिबार आयोजित एक कार्यक्रमबीच प्रयोगशालाको औपचारिक उद्घाटन गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा स्थानीय समुदायको सक्रिय सहभागिताका कारण शैक्षिक सुधार सम्भव भएको उल्लेख गरे । उनले सूचना तथा सञ्चार प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र नवप्रवर्तनका क्षेत्रमा विद्यार्थीले भविष्यका अवसर खोज्नुपर्नेमा जोड दिए ।
पाकिस्तानी दूतावासद्वारा जारी जानकारीअनुसार कार्यक्रममा पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख समन्तमणि आचार्य तथा विद्यालयकी प्राचार्य विष्णु घिमिरेलगायतको सहभागिता रहेको थियो ।
पाकिस्तान सरकारले सन् २०१३ देखि नै उक्त विद्यालयको कम्प्युटर प्रयोगशालाका लागि फर्निचर, कम्प्युटर तथा आवश्यक उपकरणहरू सहयोग गर्दै आएको जनाइएको छ । यस सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धनमा टेवा पुगेको विश्वास गरिएको छ ।