काठमाडौँ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ता गर्ने अन्तिम दिन आज सकिँदैछ । निर्वाचन आयोगको चुनावी कार्यक्रमअनुसार मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय तोकिएको थियो । तर, केही दल प्रक्रिया नटुंगिएको भन्दै समय थपको आग्रह आएपछि आयोगले चार दिन थप गरेको हो ।
आयोगका अनुसार गत शुक्रबारसम्म १०८ वटा राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन् । आजसम्म दर्ता हुने दलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउन पाउनेछन् ।
२०७९ साल मंसिर ४ गते भएको अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ८४ दल सहभागी भएका थिए । यसपटक भने दलको संख्या उल्लेखनीय रूपमा बढेको छ । आजसम्म पनि दर्ताको समय बाँकी रहेकाले अझ केही दल थपिन सक्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगका अनुसार ‘जेन–जी आन्दोलन’पछि मात्र गठन भएका २३ वटा नयाँ दलले आधिकारिकता प्राप्त गरेका छन् भने अझै १६ वटा दल दर्ता प्रक्रियामा छन् ।
पछिल्लो चरणमा नागरिक बचाउ दल नेपाल, नेपाल जनसेवा पार्टी, प्रगतिशील नागरिक पार्टी, सर्वोदय पार्टी, समुन्नत नेपाल पार्टी, जनादेश पार्टी नेपाल, सार्वभौम नागरिक पार्टी, नागरिक सेवा पार्टी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टी र पिपुल फर्स्ट पार्टी दर्ता भएका छन् ।
यसअघि श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, राष्ट्रिय जनमत पार्टी, कम्युनिस्ट पार्टी नेपाल (विप्लव), राष्ट्र निर्माण दल नेपाल, स्वाभिमान पार्टी, हाम्रो पार्टी नेपाल र नागरिक सर्वोच्चता पार्टी नेपाल पनि दर्ता भइसकेका छन् ।
दर्ता प्रक्रियामा रहेका दलहरूमा नेपाल लिबरल पार्टी, नेपाल राष्ट्रिय युवा पार्टी, सुन्दर नेपाल निर्माण पार्टी, नेकपा (वामपन्थी केन्द्र), आवाज पार्टी, नेपाली प्रथम पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, राष्ट्रिय गौरव पार्टी, एकता नेपाल, नवनिर्माण, राष्ट्रिय सनातन पार्टी नेपाल, जनअधिकार पार्टी, न्यू न्यास्नलिस्ट पार्टी र उदार लोकतान्त्रिक पार्टी रहेका छन् ।