जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिका–१ मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो दाउरा टिप्न जंगल गएकी स्थानीय महिलाको दुर्घटनामा ज्यान गएको हो।
दिउँसो करिब १२:३० बजेतिर राँका गाउँ नजिकको जंगलमा दाउरा संकलन गर्ने क्रममा तातोपानी–१ की अन्दाजी ५० वर्षीया दुर्गा सार्की अनियन्त्रित भएर भीरबाट लडेको बताइएको छ। उनी गाईचौर उधेंरी खोला नजिकको भीरबाट करिब २०० मिटर तल खसेकी थिइन्। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
दुर्गा सार्कीसँगै दाउरा संकलन गर्न गएकी लक्ष्मी कठायतका अनुसार दुर्गा भीरबाट लड्न लाग्दा आफूले देखे पनि ज्यान जोगाउन नसकेको बताइन्। ‘उहाँ चिप्लिएर खस्नुभयो, सम्हाल्ने प्रयास गरें तर सम्भव भएन,’ उनले भनिन्।
घटनापछि स्थानीयबासीले प्रहरीलाई जानकारी गराएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।