काठमाडौँ।
वैदिक सनातन हिन्दू परम्पराअनुसार भगवान् श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई उपदेश दिएको दिनको स्मरणमा आज देशभर गीता जयन्ती विभिन्न धार्मिक कार्यक्रमसहित मनाइँदै छ। గीता जयन्तीको अवसरमा आज मन्दिरहरूमा गीता पाठ, प्रवचन, सत्संग र धार्मिक अनुष्ठान आयोजना गरिएका छन्।
वैदिक ज्ञान र जीवन दर्शनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष मार्गशीर्ष शुक्ल एकादशीका दिन गीता जयन्ती मनाउने परम्परा रहेको छ। धार्मिक ग्रन्थअनुसार आजकै दिन महाभारत युद्धका क्रममा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्म, भक्ति र ज्ञानको सार समेटिएको गीता उपदेश दिनुभएको विश्वास गरिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार कुरुक्षेत्रमा १८ दिनसम्म चलेको महाभारत युद्धमा आफ्नै आफन्तविरुद्ध युद्ध गर्न अर्जुन हिच्किचाएपछि भगवान् कृष्णले जीवन, कर्तव्य र धर्मसम्बन्धी गहिरो ज्ञान उपदेशस्वरूप सुनाउनुभएको हो। “कौरव पक्षमा भीष्मपितामहजस्तो शक्तिशाली सेनापति देखेपछि अर्जुन अलमलिएका थिए, त्यही बेला कृष्णले गीता उपदेश दिनुभयो,” उनले बताए।
जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले वैदिक ज्ञान लोप हुन नदिन गीता जयन्ती मनाउन थालिएको जानकारी दिए। उनका अनुसार चार वेदका अधिकांश शाखा समयक्रममा लोप भइसकेकाले गीता पनि त्यसकै नियति नहोस् भनेर जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम हुँदै आएका छन्। “ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका धेरै शाखा अहिले उपलब्ध छैनन्, गीता पनि लोप नहोस् भन्ने चाहना हाम्रो हो,” उनले भने।
प्रतिष्ठानले ११ वर्षदेखि मोक्षदा एकादशीका दिन नियमित रूपमा गीता जयन्ती मनाउँदै आएको छ। आज स्वयम्भूस्थित गीता मन्दिरमा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ भने विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाहरूले पनि राजधानीमा गीता जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने जनाएका छन्।
यस अवसरमा विभिन्न मन्दिरहरूमा गीता पाठ, प्रवचन तथा भजन–कीर्तन गरिने बताइएको छ। गीता ग्रन्थमा भक्ति योग, ज्ञान योग र वैराग्य योगका माध्यमबाट मानव जीवनको मार्गदर्शन गरिएको उल्लेख गरिन्छ।