एनपीएलमा चितवनले टस जितेर ब्याटिङ रोज्यो
एनपीएलमा चितवनले टस जितेर ब्याटिङ रोज्यो
    • बेल संचार

    • १६ मंसिर २०८२, मंगलवार

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा चितवन राइनोजले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। आजको प्रतिस्पर्धाका लागि चितवनले टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ।

दीपक बोहरा र रिजन ढकाललाई बेन्चमा राख्दै अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई प्लेइङ–११ मा समावेश गरिएको छ। हालसम्म चितवनको प्रदर्शन उतार–चढावपूर्ण देखिएको छ। पहिलो खेल जितेको चितवनले दोस्रो र चौथो खेलमा हार बेहोरेको थियो भने तेस्रो खेलमा पुनः जित निकाल्न सफल भएको थियो। चितवन विदेशी खेलाडीमा धेरै भर परिरहेको टिप्पणी पनि भइरहेको छ।

जनकपुरले पनि आजको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ। ललित राजवंशी र किशोर महतो बाहिरिँदा अनिल साह र सचिन भट्ट प्लेइङ–११ मा फर्किएका छन्। अघिल्लो खेलमा जनकपुरले नियमित कप्तान अनिल साहलाई बेन्चमा राखेर दक्षिण अफ्रिकी खेलाडी वायन पार्नेललाई कप्तानी सुम्पिएको थियो, तर त्यसबाट अपेक्षित नतिजा आउन सकेन।

जनकपुरले हालसम्म काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजय बेहोरेको छ। आजको खेल जितेर जनकपुर गणितीय सम्भावना जोगाइ राख्दै प्लेअफको दौडमा टिकिरहन चाहन्छ। आज पराजित भएमा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ।

चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो भने दोस्रो खेलमा लुम्बिनी लायन्ससँग हार व्यहोरेको थियो। त्यसपछि विराटनगरमाथि जित निकाले पनि काठमाडौं गोर्खाजसँग पुनः पराजित भएको थियो। चितवनको अब सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल बाँकी छ।

हाल ४ खेलमा २ जितसहित ४ अंक जोडेको चितवन आजको खेल जित्न सके प्लेअफ पुग्ने बाटो अझ सहज बन्नेछ। यदि पराजय बेहोरेमा बाँकी खेल र अन्य टोलीको नतिजा तथा नेट रनरेटमा भर पर्नुपर्ने स्थिति आउनेछ।

साताकाे चर्चित
सम्बन्धित