जुम्ला ।
सिँजा गाउँपालिका–६ स्थित श्री माध्यमिक विद्यालय जोडूमा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा र पेस नेपाल (PACE Nepal) को सहकार्यमा सञ्चालन गरिएको शिविरबाट एकै दिनमा २७२ जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्।
शिविरमा महिलाको पाठेघरसम्बन्धी परीक्षण, बालरोग उपचार, हाडजोर्नीको जाँच, सामान्य स्वास्थ्य परीक्षण तथा किशोर–किशोरी प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको थियो।
स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार शिविरमा १५२ महिला र ११० पुरुषले सेवा लिएका थिए। स्त्रीरोग सम्बन्धी १५२ जनाको परीक्षण गरिएको थियो भने VIA परीक्षण ५५ जनामा गरियो। त्यसमध्ये २ जनामा पोजेटिभ देखिएकोमा १ जनालाई थप उपचारका लागि रिफर गरिएको छ। ५ जनाले रिङ पेसरी सेवा, ६ जनाले बालरोग सेवा, ५५ जनाले सामान्य स्वास्थ्य सेवा तथा ६० जनाले परामर्श सेवा लिएको जानकारी उनले दिए।
शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोली खटिएको थियो। टोलीले दुर्गम क्षेत्रका नागरिकलाई घर नजिकै गुणस्तरीय सेवा उपलब्ध गराएको स्वास्थ्य शाखाले जनाएको छ।
स्थानीय नरबहादुर बुढाले दुर्गम बस्तीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिदिएकोमा सिँजा गाउँपालिका स्वास्थ्य शाखाप्रति आभार व्यक्त गर्दै शिविरबाट आफू अत्यन्त सन्तुष्ट भएको बताए।
शिविरको उद्घाटन सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिलाले गरेका थिए। स्थानीयवासीका अनुसार यस्ता स्वास्थ्य शिविरले गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।