अपाङ्गता भएका व्यक्तिको ३४औं अन्तर्राष्ट्रिय दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै
अपाङ्गता भएका व्यक्तिको ३४औं अन्तर्राष्ट्रिय दिवस देशभर विविध कार्यक्रमका साथ मनाइँदै
    • बेल संचार

    • १७ मंसिर २०८२, बुधबार

काठमाडौँ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज नेपाल सहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ। दिवसको अवसरमा सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा सक्रिय संघ–संस्थाहरूले अन्तरक्रिया, र्‍याली, सम्मान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै अपाङ्गता भएका नागरिकको अधिकार, समानता र सम्मानको प्रत्याभूति गर्न सबैलाई आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ का दिन यो दिवस मनाउन थालिएको हो। यस वर्षको नारा अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ। यो नारा मार्फत अपाङ्गता भएका व्यक्तिलाई समाजको मूलधारमा समावेश गर्दै सामाजिक विकासमा सहभागिता सुनिश्चित गर्ने सन्देश प्रवाह गरिएको छ।

विशेषज्ञहरूका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, सरकारी तथा निजी संरचनामा पहुँचयुक्त र मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण हुनु अत्यावश्यक छ। आवश्यक वातावरण र सुविधाको अभावका कारण उनीहरू अझै पनि विभिन्न अवरोधको सामना गर्न बाध्य छन्।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक जीवनयापन गर्ने, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच पाउने हक सुनिश्चित गरे पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरू बताउँछन्। अधिकार कार्यान्वयनमा राज्यका सबै तह गम्भीर हुनुपर्ने उनीहरूको माग छ।

साताकाे चर्चित
सम्बन्धित