काठमाडौं ।
शाहब आलमको शानदार बलिङको मद्दतमा काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ। बिहीबार भएको खेलमा काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो।
काठमान्डुले ७ खेलमध्ये ५ जित निकालेर १० अंक जोडेको छ र दोस्रो स्थानमा रहेको छ। शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनेको छ। पोखराले भने ६ खेलमा चौथो हार बेहोरेको छ र ४ अंकमा सीमित भएको छ।
१६६ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए र ह्याट्रिक पनि पूरा गरे। करण केसी र सन्नी पटेलले समान २–२ विकेट लिए।
पोखराका लागि ऋषि धवनले ५४ रन बनाए भने धनन्जय लक्षनले ३० रन जोडे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो। बेन चार्ल्सवर्थले ६४ रन र भिम शार्कीले ५५ रनको अर्धशतकीय पारी खेले।
पोखराको बलिङमा धनन्जय लक्षनले ४ विकेट लिए।