तनहुँ ।
चालु वर्ष तनहुँ जिल्लामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन भएको छ ।
कार्यालयका अनुसार जिल्लाका ८ हजार ५१२ हेक्टर क्षेत्रफलमा सावित्री, राम, सुक्खा–३, मकवानपुर–१, सावामन्सुली, कालो मसिनो तथा हाइब्रिड (वर्णशङ्कर) जातका धान लगाइएको थियो । अघिल्लो आर्थिक वर्षमा ८ हजार १२० हेक्टर क्षेत्रफलमा खेती हुँदै ३३ हजार २९२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
कृषि विकास कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार जिल्लामा कुल १३ हजार ५५१ हेक्टर खेतीयोग्य जमिन अझै बाँझो अवस्थामा रहेको छ । तीमध्ये ६ हजार ३४७ हेक्टरमा स्थायी सिँचाइ सुविधा उपलब्ध छ भने ७ हजार २३६ हेक्टर क्षेत्रफल मौसमी सिँचाइमा निर्भर छ ।
यसैबीच हालै परेको बेमौसमी वर्षाका कारण जिल्लामा करिब एक करोड रुपैयाँ बराबरको कृषि क्षति पुगेको पनि कार्यालयले जनाएको छ ।