काठमाडौँ ।
नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठको अवसरमा हुन सक्ने सहकार्य र द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको हो।
भेटका क्रममा राजदूत तोरुले सरकारले समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताको प्रशंसा गर्दै नेपालको प्राथमिकता र आवश्यकताअनुसार सहयोग गर्न जापान सरकार सधैं तत्पर रहेको उल्लेख गरे।
जवाफमा प्रधानमन्त्री कार्कीले नेपालका विकास निर्माणसहित विभिन्न क्षेत्रमा जापान सरकारले गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद प्रकट गरिन्। साथै, आगामी दिनहरूमा पनि नेपाल–जापान सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरिन्।