पाटन संग्रहालयमा नेपाल–दक्षिण कोरिया मास्क कला प्रदर्शनी सुरु
पाटन संग्रहालयमा नेपाल–दक्षिण कोरिया मास्क कला प्रदर्शनी सुरु
    • बेल संचार

    • १९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ ।

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले डिसेम्बर ५ (शुक्रबार) २०२५ मा ललितपुरको पाटन संग्रहालयमा नेपाल हस्तकला महासंघद्वारा आयोजित मास्क कला प्रदर्शनीमा सम्मानित अतिथिको रूपमा सहभागिता जनाएको छ।

ललितपुर महानगरपालिकाको सहकार्य तथा दक्षिण कोरियाको इमाको (IMACO) को महत्वपूर्ण सहयोगमा आयोजित उक्त प्रदर्शनीमा नेपालका ६० र दक्षिण कोरियाका ४० वटा विभिन्न सांस्कृतिक मास्कहरू प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रममा सहभागी हुँदै इमाकोका महासचिव छोए वु ह्यकले दक्षिण कोरियाली मास्कलाई शैक्षिक तथा सौन्दर्यात्मक महत्व बोकेको सांस्कृतिक पहिचानका रूपमा प्रस्तुत गर्दै यसले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाली राजदूत पार्क थेयङले नेपाल र दक्षिण कोरियाबीच रहेको समानता र समृद्ध मास्क परम्पराको चर्चा गर्दै मास्क कोरियाली सांस्कृतिक तथा परम्परागत सम्पदाको अभिन्न हिस्सा रहेको बताए। उनले बौद्ध धर्ममार्फत जोडिएका दुई राष्ट्रबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई विशेष महत्व दिँदै दुबै देशका मास्क परम्परामा आध्यात्मिक, सामाजिक तथा सांस्कृतिक प्रतिनिधित्व पाइने उल्लेख गरे।

राजदूत पार्कले नेपाल–दक्षिण कोरिया बीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध र बढ्दो सहकार्यको लामो इतिहासबारे पनि चर्चा गरे। जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन यस्ता प्रदर्शनीहरू महत्वपूर्ण हुने बताउँदै हरेक वर्ष हजारौँ कोरियाली पर्यटक नेपाल आउने गरेको र हिमालय मात्र होइन, नेपालको समृद्ध सांस्कृतिक सम्पदाले पनि उनीहरूलाई आकर्षित गरिरहेको उल्लेख गरे।

नेपाल हस्तकला महासंघ र इमाकोबीचको सहकार्यले आगामी दिनमा दुई देशका कलाकारबीच सांस्कृतिक आदानप्रदान, रचनात्मक साझेदारी र अवसरहरू थप विस्तार हुने अपेक्षा उनले व्यक्त गरे।

कार्यक्रममा ललितपुर महानगरपालिकाका अधिकारीहरू, नेपाल हस्तकला महासंघका पदाधिकारीहरू, दक्षिण कोरियाली राजदूत तथा दूतावासका कर्मचारीहरू, इमाको कोरियाका अधिकारीहरू तथा ठूलो संख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो।

उक्त मास्क कला प्रदर्शनी डिसेम्बर ७, २०२५ सम्म सञ्चालन हुने जनाइएको छ।

साताकाे चर्चित
सम्बन्धित