धनगढी,
डाउन सिण्ड्रोम समाज नेपाल डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि काम गर्ने एक सामाजिक संस्था हो । यस संस्थाले अपाङ्गताको क्षेत्रमा काम गर्ने क्रममा बौद्धिक डाउन सिण्ड्रोम छोरीहरू विभिन्न हिंसाबाट सुरक्षित रहन सकुन् भन्ने उद्देश्यले देशका विभिन्न जिल्लाहरूमा बौद्धिक र डाउन सिण्ड्रोम अपाङ्गता भएका महिला, उनीहरूका आमाहरू र शिक्षिकाहरूलाई असल र खराब छुवाई सम्बन्धी तालिम दिँदै आएको छ । यसै क्रममा यस संस्थाले अस्ट्रेलियन एड्को सहयोगमा मङ्सिर ५ गते देखि ९ गते सम्म धनगढीमा रहेका बौद्धिक र डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरू, उनीहरूका आमा र शिक्षिकाहरूलाई हिंसा विरुद्ध हाम्रो अभियान, प्रतिकार र प्रतिरक्षा भन्ने नारा सहित असल र खराब छुवाई सम्बन्धी ५ दिने तालिम प्रदान गरेको छ ।
आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलामा विभिन्न हिंसाहरू हुन सक्ने र उक्त हिंसाको प्रतिकार गरी सुरक्षित रहनको लागि पूर्व तयारी गराउने, आफ्ना घर परिवार, आफन्त र विभिन्न व्यक्तिहरूबाट गरिने छुवाइका विषयमा जानकारी गराउने उद्देश्यले असल र खराब तालिमको आयोजना गरिएको बताउनु भयो । यसै क्रममा उहाँले तालिमका क्रममा डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा जानकारी दिँदै डाउन सिण्ड्रोम हुनुको कारण, लक्षण, सामाजिक दृष्टिकोणका बारेमा प्रस्ट पार्दै असर र खराब छुवाइका विषयमा विशेष गरी यी बालिकाहरू, उनीहरूका अभिभावक र शिक्षिकालाई जानकारी हुनु पर्ने र आगामी दिनमा स्थानीय निकायहरूले नै यस्ता तालिमहरूको आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
धनगढीमा सम्पन्न उक्त ५ दिने असल र खराब छुवाई सम्बन्धी तालिमको समापनका क्रममा प्रमुख अतिथि तथा सामाजिक विकास समिति प्रमुख एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्म पाठकले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सबैले समान व्यवहार गर्नु पर्ने, उनीहरू अनुकूलको वातावरण, भौतिक संरचना निर्माण गर्नुका साथै राज्यले आवश्यकता अनुसारको सेवा सुविधा प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले अपाङ्गता पूर्व जन्मको पाप नभएर जन्मजात वा जन्म पश्चात् हुने एक अवस्था भएको भन्दै उनीहरूलाई सबैले साथ सहयोग गर्दै देश विकासका लागि योग्य बनाउन लागि पर्नु पर्ने भन्दै बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका सचिव नरदेव धामीले डाउन सिण्ड्रोम समाज नेपालले धनगढीमा आएर बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई विभिन्न हिंसाबाट सुरक्षित राख्ने उद्देश्यले असर र खराब छुवाई सम्बन्धी तालिम प्रदान गर्नु भएकोमा धन्यवाद दिँदै आगामी दिनमा सुदूरपश्चिम सरकारले पनि यस्ता तालिमलाई निरन्तरता दिनु पर्ने र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिमबाट समन्वय र सहयोग गर्ने तत्पर रहेको बताउनु भयो ।
डाउन सिण्ड्रोम समाज नेपालले अस्ट्रेलियन एड्को सहयोगमा मङ्सिर ५ देखि ९ गते सम्म आयोजना गरेको असल र खराब छुवाई सम्बन्धी तालिमको समापनका क्रममा धनगढी उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष मोती राना थारुले यस तालिमले समाजमा सकारात्मक सन्देश दिने, बौद्धिक अपाङ्गता भएका छोरीहरूलाई सुरक्षित रहन सहयोग गर्ने भएकाले तालिममा सहभागी अभिभावक तथा शिक्षिकाहरूले यहाँ सिकेका कुराहरूलाई सही सदुपयोग गर्नु हुन आग्रह गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूको लागि आफ्नो वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो तालिममा डाउन सिण्ड्रोम समाज कैलालीका अध्यक्ष खड्गराज भट्टले हाम्रो समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूलाई हेरिने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको र विशेष गरी बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरू विभिन्न हिंसाको जोखिममा रहेको भन्दै यस तालिमले उनीहरूको सुरक्षाको लागि सचेत तथा प्रतिकारका लागि ठुलो सहयोग पुर्यादउने बताउनु भयो ।
साथै यो महत्त्वपूर्ण तालिम प्रदान गर्नु भएकोमा डाउन सिण्ड्रोम समाज नेपाल र अस्ट्रेलियन एड लाई विशेष धन्यवाद दिँदै आगामी दिनमा धनगढीमा पनि यस्ता तालिम सञ्चालन गर्नका लागि वडा स्तर देखि प्रदेश सरकार सम्म वकालत तथा पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उक्त तालिममा सहभागी शिक्षिका सानु सुवेदीले असल र खराब छुवाई सम्बन्धी तालिम ज्यादै महत्त्वपूर्ण रहेको, यस तालिमबाट बौद्धिक वा डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई सुरक्षित राख्ने कुराहरू, उनीहरूलाई शरीरका अङ्गहरूको पहिचान गराउने तरिका, सुरक्षित घेराहरू, समाज, परिवारका साथै विशेष गरी डाउन सिण्ड्रोम अपाङ्गताको विषयमा राम्रो ज्ञान प्राप्त भएको भन्दै आफूले यहाँ सिकेका सीपलाई आफूले अध्यापन गराउने विद्यालय, घर र समाजमा पनि सही उपयोग गर्ने बताउनु भयो ।
तालिममा सहभागी अभिभावकहरूले तालिमबाट आफ्ना यस्ता छोरीहरूको लागि धेरै उपयोगी कुराहरू सिक्न पाएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्था र प्रशिक्षकहरूलाई धन्यवाद व्यक्त गर्नु भयो । उक्त ५ दिने तालिममा प्रमुख प्रशिक्षक शिला थापा र महालक्ष्मी घले श्रेष्ठले सहभागीहरूले सहज तरिकाले बुझ्न सकुन् भनेर असर र खराब छुवाइका विषयमा विभिन्न पहुँचयुक्त तालिम सामग्रीहरू जस्तै: चित्रहरू, पुतली तथा डमीहरू, नाटक लगायतका श्रोत सामग्रीहरू प्रयोग गर्दै व्यवहारिक र प्रयोगात्मक विधिद्वारा प्रशिक्षण दिनु भएको थियो । सो ५ दिने असर तथा खराब छुवाई सम्बन्धी तालिममा बौद्धिक, डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरू, उनीहरूका आमा र शिक्षिका गरी १५ जनाको सक्रिय सहभागिता रहेको थियो भने तालिम पश्चात् उहाँहरूलाई प्रमाण पत्र र यस तालिमका विषयमा जानकारी मूलक सामग्रीहरू पनि प्रदान गरिएको थियो ।