तिला नदीमा ३८ मेगावाटको जलविद्युत् आयोजना, लागत सात अर्ब नाघ्ने अनुमान
तिला नदीमा ३८ मेगावाटको जलविद्युत् आयोजना, लागत सात अर्ब नाघ्ने अनुमान
    • बेल संचार

    • २० मंसिर २०८२, शनिबार

जुम्ला ।

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण प्रस्ताव गरिएको तिला जलविद्युत् आयोजनाबाट ३८ दशमलव ०७ मेगावाट विद्युत् उत्पादन गरिने भएको छ । उक्त आयोजनाको कुल लागत करिब सात अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

तिला गाउँपालिका–१ र ७ तथा कालिकोटको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ वडाका प्रभावित क्षेत्र समेटेर पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टका अनुसार सुनुवाइमा स्थानीय सरोकारवालाका सुझाव संकलन गरिएको हो ।

यसअघि चार वर्षअघि नै तिला नदीमा जलविद्युत् आयोजना निर्माणका लागि सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिकाबाट बग्ने तिला नदीमा निर्माण हुने यस आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहने वातावरणविद् भट्टले जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागबाट आयोजनाको नाप–जाँच २०७८ सालमै स्वीकृत भइसकेको छ । तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार आयोजनाबाट रोजगारी सिर्जना, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम र स्थानीय व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पर्नेछ । यसले स्थानीय तहदेखि राष्ट्रियस्तरसम्म लाभ पुर्‍याउने अपेक्षा गरिएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारस्थित सबस्टेशनमा जोडिनेछ । विद्युत् गृहबाट निस्कने पानी २५ मिटर लामो टेलरेस टनेलमार्फत पुनः तिला नदीमै फर्काइनेछ । आयोजनाका सम्पूर्ण संरचना नदीको बायाँ किनारमा निर्माण गरिने जनाइएको छ ।

विद्युत् विकास विभागका उपसचिव गोपीप्रसाद शाहका अनुसार आयोजनाको कुल लागत नेपाल सरकारको करिब ७ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् ३० दशमलव २० किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिनेछ ।

आयोजना निर्माणका लागि कुल ७ दशमलव ५८५ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमध्ये ४ दशमलव ७७२ हेक्टर वन क्षेत्र र २ दशमलव ८१३ हेक्टर निजी जग्गा रहेको छ । निर्माणको क्रममा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइनेछ भने व्यापार व्यवसायमार्फत प्रत्यक्ष तथा अप्रत्यक्ष आम्दानीको अवसर पनि सिर्जना हुने तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए ।

आयोजनाको निर्माण तथा सञ्चालनका कारण प्रत्यक्ष रूपमा ३४ घरधुरी प्रभावित हुने देखिएको छ । प्रभावित घरधुरीको विवरण सम्बन्धित वडा कार्यालयमा सार्वजनिक गरिएको आयोजनाले जनाएको छ । अध्ययन प्रक्रिया पूरा भएपछि चाँडै नै निर्माण कार्य अगाडि बढाइने आयोजनाको लक्ष्य रहेको छ ।

साताकाे चर्चित
सम्बन्धित