टुकुचा खोला शुद्धीकरण हुँदै वाग्मतीमा मिसाइँदै दैनिक १.५ करोड लिटर पानी प्रशोधन क्षमता
टुकुचा खोला शुद्धीकरण हुँदै वाग्मतीमा मिसाइँदै दैनिक १.५ करोड लिटर पानी प्रशोधन क्षमता
    • बेल संचार

    • २० मंसिर २०८२, शनिबार

काठमाडौँ ।

काठमाडौंको मध्य भाग भएर बग्ने ऐतिहासिक टुकुचा खोलालाई प्रशोधन गरी वाग्मती नदीमा मिसाउने उद्देश्यसहित दुई थान उच्च क्षमताका ढल प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन्। त्रिपुरेश्वर (काठमाडौं) र कुपण्डोल दोभान (ललितपुर) क्षेत्रमा करिब २.५३ हेक्टर क्षेत्रफलमा यी केन्द्रहरू निर्माण भइरहेको हो।

एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनाअन्तर्गत यो आयोजना अघि बढाइएको हो। करिब ३ अर्ब १८ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो प्रशोधन केन्द्रबाट दैनिक डेढ करोड लिटर पानी प्रशोधन गरी वाग्मतीमा प्रवाह गरिने लक्ष्य राखिएको छ। आयोजना आगामी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।

टुकुचा खोलाको बहाव सीधै प्रशोधन केन्द्रतर्फ मोडिने र प्रशोधित पानी मात्र वाग्मतीमा मिसाइने व्यवस्था मिलाइएको छ। यसको अतिरिक्त सह–उत्पादनका रूपमा करिब ८०० किलोवाट विद्युत् उत्पादन हुने जानकारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको सचिवालयले जनाएको छ।

हाल त्रिपुरेश्वर क्षेत्रमा मुख्य ढल प्रशोधन संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ भने कुपण्डोलतर्फ स्थानीय अवरोधका कारण सम्पूर्ण संरचना निर्माण सुरु हुन सकेको छैन। ललितपुरतर्फ विद्युत् उत्पादनसम्बन्धी संरचना मात्र रहने बताइएको छ।

मन्त्री घिसिङले आज निर्माणस्थलको निरीक्षण गर्दै आयोजनाको प्रगतिबारे जानकारी लिएका छन्। सो क्रममा उनले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग समयसीमा, देखिएका समस्या तथा समाधानका उपायका विषयमा छलफल गरेका थिए।

सरकारले वाग्मती नदी सफाइलाई प्राथमिकतामा राखेर सहायक खोला, ढल नियन्त्रण तथा नदी किनार व्यवस्थापनमा निरन्तर लगानी गरिरहेको मन्त्री घिसिङले बताएका छन्। निर्माण पक्षले त्रिपुरेश्वरतर्फका संरचना तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

साताकाे चर्चित
सम्बन्धित