काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पुनः राजनीतिक दलहरूकै नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘नवयुग’ ई–बुलेटिनको शुभारम्भ कार्यक्रममा बोल्दै उनले अहिले बनेको सरकार संविधानको मर्मअनुसार नभई अस्थिर परिस्थितिका कारण बनेको टिप्पणी गरे।
अध्यक्ष ओलीले अहिले समाजमा ‘फेरि पनि पुरानै शक्ति फर्किन्छन्’ भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै उनले लोकतन्त्रमा सरकार निर्वाचनबाटै बन्ने स्पष्ट पारे। वर्तमान सरकारलाई लक्षित गर्दै उनले असन्तुष्टि पनि व्यक्त गरे। जेनजी सरकारका प्रधानमन्त्री आफूभन्दा केही महिनामात्रै कान्छा रहेको भन्दै उनले व्यंग्य गरेका थिए।
ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी एमाले नै सत्तामा आउने दृढ विश्वास व्यक्त गरे। अन्य दलहरूको भविष्यबारे टिप्पणी गर्न नचाहेको बताउँदै उनले एमाले भने निर्वाचित भएर सरकारमा पुग्ने जिकिर गरे।
उनले आफ्नो पार्टी तत्काल सरकार बनाउने खेलमा नरहेको उल्लेख गर्दै स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको प्रतिक्षामा रहेको बताए। फागुन २१ मा चुनाव नहुने आफ्नो बुझाइ प्रस्तुत गर्दै उनले चुनाव जहिले भए पनि त्यसबाट बन्ने सरकार एमालेको हुने दाबी गरे।
अन्त्यमा उनले एमालेको भविष्यलाई बाढीसँग तुलना गर्दै पार्टी अगाडि बढ्ने गतिलाई कसैले रोक्न नसक्ने दाबी गरे।