जुम्ला ।
चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारमा रहेको एक मोबाइल पसलमा लागेको आगो ‘फायर हाइड्रेन्ट’ प्रणाली प्रयोग गरी सफलतापूर्वक नियन्त्रणमा लिइएको छ। दमकल प्रवेश गर्न नसक्ने साँघुरो चोकमा आगलागी भएपछि बजार क्षेत्रका बासिन्दा त्रसित बनेका थिए।
पसल अगाडिको चोकमा हालै जडान गरिएको ‘फायर हाइड्रेन्ट’ को ड्राइराइजरमार्फत् स्थानीयवासी, नगरपालिकाका अग्निनियन्त्रक, सुरक्षाकर्मी तथा स्वयंसेवकको संयुक्त प्रयासमा आगो निभाइएको हो। समयमै नियन्त्रणमा लिन सफल हुँदा बजार क्षेत्रमा ठूलो जनधनको क्षति हुनबाट जोगिएको छ।
स्थानीय अकवरनाथ क्षेत्रीका अनुसार यदि त्यहाँ ‘फायर हाइड्रेन्ट’ जडान गरिएको नहुँदो हो त खलङ्गा बजार पूरै आगलागीको चपेटामा पर्न सक्थ्यो। चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पनि फायर हाइड्रेन्टकै कारण ठूलो दुर्घटना टरेको बताइन्।
दमकल पुग्न नसक्ने साँघुरा गल्ली, चोक र बस्तीहरूमा आगलागी नियन्त्रण गर्नका लागि जडान गरिने विशेष पाइपलाइन प्रणालीलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ। यसका विभिन्न स्थानमा राखिएका ड्राइराइजरमा दमकलको पानी जोडेर आगो निभाइन्छ।
स्वीस रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले चन्दननाथ नगरपालिकामा सञ्चालन गरिरहेको ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन परियोजना’ अन्तर्गत वडा नं २, ३ र ५ मा फायर हाइड्रेन्ट पाइपलाइन जडान गरिएको हो। समुदायलाई यसको प्रयोगसम्बन्धी तालिमसमेत दिइएको छ।
परियोजनाअन्तर्गत दुईवटा अग्निनियन्त्रक मोटरसाइकल पनि तयारी अवस्थामा राखिएका छन्। आगलागीको सूचना प्राप्त हुनासाथ नगर प्रहरीले ती मोटरसाइकल प्रयोग गरी घटनास्थलमा तत्काल प्रतिक्रिया जनाउँछन्।
परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र आपत्कालीन प्रतिकार्यलाई प्राथमिकता दिइएको जानकारी दिइन्।
नेपालमा ‘फायर हाइड्रेन्ट’ को पहिलो अभ्यास काठमाडौंको असन–इन्द्रचोक क्षेत्रबाट सुरु गरिएको थियो। तत्कालीन वडा नेतृत्व र ब्रिटिस रेडक्रसको सहयोगमा साँघुरा गल्लीहरूमा यो प्रणाली जडान गरिएको थियो। २०७६ सालमा सफल परीक्षणपछि अन्य जिल्लाहरूमा पनि यसको विस्तार गरिएको नेपाल रेडक्रसले जनाएको छ।
चन्दननाथ नगरपालिका–६, घामडाँडामा पनि परियोजनाकै सहयोगमा अत्याधुनिक ‘साइरन’ जडान गरिएको छ। गत भदौ २१ गतेदेखि सञ्चालनमा आएको यो साइरनले विपद् पूर्वसूचना तथा सार्वजनिक जानकारी समुदायसम्म पुर्याउँदै आएको छ।
नगरपालिकाका सूचना प्रविधि अधिकृत विकल्प बुढाथापाका अनुसार मोबाइल पसलको आगलागी हुँदा पनि साइरन बजाएर स्थानीयलाई सचेत गराइएको थियो। साथै नगरपालिकाले मोबाइल म्यासेज र एपमार्फत पनि विपद् सूचना प्रवाह गरिरहेको छ।