जुम्ला
नबिल बैंक सिँजा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत ६ लाख रुपैयाँको लागतमा सिँजा गाउँपालिका–३ स्थित भैरव माध्यमिक विद्यालय, नराकोटलाई महत्वपूर्ण सहयोग प्रदान गरेको छ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा विद्यालयका किशोरी छात्राहरूको महिनावारी स्वास्थ्य व्यवस्थापनलाई सुरक्षित र सहज बनाउन सेनेटरी प्याड भेन्डिङ मेसिन र प्याड वितरण मेसिन हस्तान्तरण गरिएको छ। दोस्रो चरणमा विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी शुद्धीकरण (फिल्टर) उपकरण पनि चाँडै हस्तान्तरण गरिने बैंकले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सिँजा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले नबिल बैंकले गरेको योगदानलाई “अनुल्लनीय” भन्दै हार्दिक धन्यवाद व्यक्त गरे। उनले यस्तो सहयोग अन्य विद्यालयहरूमा पनि विस्तार हुने अपेक्षा व्यक्त गरे।

त्यसैगरी, नबिल बैंक सिँजा शाखाका प्रमुख हरि बहादुर रावतले समुदायलाई प्रत्यक्ष लाभ पुग्ने खालका सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए। बैंकले आगामी दिनमा पनि शिक्षालय तथा समुदायमुखी योजनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन सहयोग गरिएकोमा विद्यालय परिवारले नबिल बैंक सिँजा शाखाप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा खानेपानी शुद्धीकरण उपकरण पनि प्राप्त हुने भएपछि विद्यालय परिवार थप उत्साहित भएको छ।