ललितपुर
अपाङ्गता भएका व्यक्तिहरूको ३४ औ अन्तर्राष्ट्रिय दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा मानव अधिकार राष्ट्रिय महाभेलाको सन्दर्भमा नेपाल अपाङ्ग महिला संघ र JuRI- Nepal ( न्याय तथा अधिकार संस्था नेपाल ) को संयुक्त आयोजना तथा UNFPA को सहयोग र अन्य विभिन्न संघ संस्थाहरूको सह-संयोजनमा यही मङ्सिर २१ गते ” यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच ” सम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ । सो परामर्श कार्यक्रममा UNFPA का कार्यक्रम विश्लेषक समीर घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूलाई अन्य नागरिक सरह यौन तथा प्रजनन् स्वास्थ्यका विषयमा जानकारी हुनु पर्ने साथै यसमा उनीहरूको पहुँच पनि हुनु पर्ने भन्दै यस विषयमा जानकारी नहुँदा विभिन्न हिंसाको सिकार हुन परेको बताउनु भयो ।
साथै उहाँले राज्यले बनाएका सबै नीति नियमहरू अपाङ्गता मैत्री र उनीहरूको पहुँचमा पुग्ने खालका बनाउनु पर्ने, सबै ऐन कानुनहरूमा अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार समावेश गरिएको भएता पनि ती व्यवस्थाहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र आगामी दिनमा यस विषयमा सबै सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यस परामर्श कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्दुदेवी ढकालले अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्यमा पहुँच पुर्या उनका लागि हाम्रा सबै निकायका संरचनाहरू अपाङ्गता मैत्री बनाउनु पर्ने, बन्न लागेको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारमा अपाङ्गता भएका व्यक्तिहरूको नीतिगत अवरोध र सुधारका उपाय सम्बन्धी अध्ययन प्रतिवेदनमा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक व्यवस्थाहरू समावेश गर्नु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् अधिकारका सवालमा आफू आबद्ध संस्था र आफू व्यक्तिगत रूपमा पनि सक्दो सहयोग गर्ने कुरामा जोड दिनु भयो । नेपाल अपाङ्ग महिला संघ र र JuRI- Nepal ( न्याय तथा अधिकार संस्था नेपाल ) को संयुक्त आयोजना तथा UNFPA को सहयोग र अन्य विभिन्न संघ संस्थाहरूको सह-संयोजनमा यही मङ्सिर २१ गते ” यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच ” सम्बन्धी परामर्श कार्यक्रममा आयोजक संस्था JuRI- Nepal ( न्याय तथा अधिकार संस्था नेपाल ) का अध्यक्ष तनुजा बस्नेतले अपाङ्गता भएका व्यक्तिहरूका सवालमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार मात्रै नभएर अन्य सबै अधिकार तथा सवालमा हामी सबैले काम गर्नु पर्ने भन्दै अपाङ्गता भित्रको विविधतालाई हामी सबैले स्वीकार गरी काम गर्नु पर्ने, विभिन्न हिंसाहरू न्यूनीकरणका लागि सही सूचना उपलब्ध गराउनु पर्ने बताउनु ।
साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरू प्रति राज्यलाई दयामुखी भन्दा पनि दायित्वमुखी र अधिकारमुखी बनाउनु पर्ने भन्दै आफू र आफ्नो संस्था सधैँ अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि सरकार र सरोकारवाला निकायहरूसँग सधैँ वकालत तथा पैरवी गरिरहने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा अपाङ्गता समावेशी समाज विज्ञ कृष्ण गहतराजले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारमा अपाङ्गता भएका व्यक्तिहरूको नीतिगत अवरोध र सुधारका उपाय सम्बन्धी अध्ययन प्रतिवेदनको प्रस्तुतीकरण गर्नु भएको थियो ।
सो अध्ययन प्रतिवेदनमा समावेश गरिएको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार पहुँचमा अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्नु परेका अवरोधहरूको सम्बन्धमा नीतिको उद्देश्य, नीतिगत व्यवस्थाहरू, अन्तर्राष्ट्रिय नीतिगत व्यवस्थाहरू, अपाङ्गताको अवधारणागत बुझाई लगायतका विषयमा प्रस्ट पार्नु भयो ।
त्यसै गरी आयोजक संस्था नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष मिना पौडेलले नेपाल अपाङ्ग महिला संघले संस्था स्थापना काल देखि नै अपाङ्गता भएका व्यक्तिहरू तथा महिलाहरूको हक हित र अधिकारका लागि वकालत तथा पैरवी गर्दै आएको र पछिल्लो समयमा अपाङ्गता भएका व्यक्ति तथा महिलाहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा पनि वकालत तथा पैरवीको कार्यलाई अगाडी बढाएकोमा केही उपलब्धिहरू भएता पनि ती उपलब्धिहरू ज्यादै न्यून रूपमा हुँदै आएको बताउनु भयो । साथै उहाँले साथै उहाँले वकालत तथा पैरवीहरू गरिँदै आएता पनि नियमावलीमा यस्ता सवालहरू शून्य रहेको, नीति नियमहरूको विषयमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूसँग छलफल नभएको, कार्यक्रमहरूमा यस्ता सवालहरू समावेश नगरिएको भन्दै अब बन्ने सबै नीति नियम तथा दस्ताबेजमा अपाङ्गता भएका व्यक्तिका साथै अपाङ्गता भएका महिलाहरू भनी उल्लेख नै गर्नु पर्ने कुरा जोड दिनु भयो ।
यस परामर्श कार्यक्रममा सहभागी हुनु भएका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले स्वास्थ्य निकायहरू तथा अस्पतालका कर्मचारीहरूलाई साङ्केतिक भाषाको तालिम दिनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने, महिला स्वास्थ्यकर्मीहरूलाई अपाङ्गताको विषयमा जानकारी दिँदै उनीहरूको यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जानकारी गराउनु पर्ने, नीति नियमहरू निर्माणका क्रममा १० प्रकारका अपाङ्गताको साथै अपाङ्गताको विविधतालाई पनि समावेश गर्नु पर्ने, यस्ता विभिन्न कार्यक्रमहरूमा मेरुदण्ड पक्षाघात अपाङ्गता भएका महिलाहरूका सवालहरूलाई पनि अर्थपूर्ण रूपमा समावेश गरिनु पर्ने लगायतका विचारहरू व्यक्त गर्नु भएको थियो ।