कालिकोटका दुइ विद्यालयमा नयाँ पूर्वाधार, दशकौंको समस्या अन्त्य
कालिकोटका दुइ विद्यालयमा नयाँ पूर्वाधार, दशकौंको समस्या अन्त्य
    • बेल संचार

    • २३ मंसिर २०८२, मंगलवार

कालिकोट ।

लामो समयदेखि असुरक्षित र जीर्ण अवस्था भएका कक्षा कोठामा पढ्दै आएका श्री जनता आधारभूत विद्यालय, तिलागुफा नगरपालिका–१ चौरभिग्मका बालबालिकाले अब सुरक्षित पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् । वि.सं. २०७२ को विनाशकारी गोरखा भूकम्प र २०७९ सालको वर्षाका कारण क्षति पुगेको विद्यालय भवनमा करिब १० वर्षसम्म बालबालिका पढ्न बाध्य थिए ।

हाल विद्यालय परिसरमै नयाँ तीन कोठे पक्की भवन निर्माण भएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरू सबैले राहत महसुस गरेका छन् । नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखा र तिलागुफा नगरपालिकाको सहकार्यमा लक्जम्बर्ग रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ अन्तर्गत भवन निर्माण गरिएको हो ।

विद्यालय २०६४ सालमा स्थापना भएको भए पनि हाल यहाँ ४० जना मात्र बालबालिका अध्ययनरत छन् । शिक्षिका रञ्जना अधिकारीका अनुसार आधारभूत तहपछि विद्यार्थीहरू मालिका माध्यमिक विद्यालयमा अध्ययनका लागि जाने गर्दछन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कर्णजीत बुढाले कक्षा कोठा अभावमा कहिले खुला चौरमा त कहिले जीर्ण भवनमै पढाउनुपरेको स्मरण गर्दै नयाँ भवन निर्माणमा सहयोग गर्ने तिलागुफा नगरपालिकाका जनप्रतिनिधि र नेपाल रेडक्रसप्रति कृतज्ञता व्यक्त गरे ।

नवनिर्मित भवनको अनुगमन गर्न पुगेका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता जनाए । वडा अध्यक्ष मनबहादुर बुढाले अब बालबालिका चौरमा बसेर पढ्नुपर्ने अवस्था अन्त्य भएको भन्दै वडाबाट पनि निरन्तर सहयोग हुने बताए ।

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले भूकम्प तथा अन्य विपदबाट क्षति भएका विद्यालय, स्वास्थ्य संस्था, खानेपानीजस्ता सार्वजनिक संरचनाको पुनर्निर्माणमा रेडक्रसले निरन्तर साथ दिँदै आएको जानकारी दिइन् । जिल्ला संयोजक रवि लामिछानेले दुर्गम क्षेत्रका आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको बताए ।

यसैगरी तिलागुफा नगरपालिका–६ जुविथास्थित सत्यदेवी माध्यमिक विद्यालयमा पनि वर्षौं पुरानो समस्या समाधान भएको छ । विद्यालयमै खानेपानी र शौचालयको व्यवस्था भएपछि विद्यार्थीहरूले अब घरबाट पानी बोकेर ल्याउनुपर्दैन भने शौचका लागि जंगल जानुपर्ने बाध्यता पनि हटेको छ ।

वि.सं. २०३८ मा स्थापना भएको यस विद्यालयमा लक्जम्बर्ग रेडक्रसको सहयोगमा सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ मार्फत खानेपानी, शौचालय तथा भवनमा च्यानल गेट जडान गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत नर्जन शाहीले विद्यालयमै पानी र शौचालय बनेपछि पढाइमा सहजता आएको बताए । शौचालय नहुँदा जंगल जानुपर्ने अवस्थाले पठनपाठनमा असर परेको उनको भनाइ छ ।

प्रधानाध्यापक सनम शाहीका अनुसार यसअघि विद्यालय भवनको तल्लो तलामा गाईवस्तु राख्ने र माथिल्लो तलामा विद्यार्थी पढ्ने अवस्था रहेको थियो । च्यानल गेट जडान भएपछि अब विद्यालय भवनमा गाईवस्तु प्रवेश रोकिनुका साथै सरसफाइ पनि सुधारिएको छ । खानेपानी र शौचालयको सुविधाले विद्यार्थीको शैक्षिक गुणस्तर अझ सुधार हुने विश्वास विद्यालयले व्यक्त गरेको छ

साताकाे चर्चित
सम्बन्धित