काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल निर्वाचनको व्यवस्थापनका लागि मात्र नभई सुशासन स्थापित गर्ने उद्देश्यका साथ गठन गरिएको स्पष्ट पारेकी छन् । उनले भ्रष्टाचारविरुद्ध कुनै पनि हदसम्म कडा कदम चाल्न सरकार तयार रहेको बताएकी छन्।
भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार सुशासनलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन्।
उनले भनिन्, “यो सरकार केवल चुनावी जिम्मेवारीका लागि बनेको होइन । सुशासनको मागसहित उठेको जेन्जी आन्दोलनको आधारमा यो सरकार गठन भएको हो । नियमित कामसँगै सुशासनका लागि पनि तीव्र गतिमा कार्य भइरहेको छ।”
प्रधानमन्त्री कार्कीका अनुसार भ्रष्टाचार नियन्त्रणका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालित भइसकेका छन्। उनले जेन्जी आन्दोलनका मागअनुसार अपेक्षित उपलब्धि हासिल गर्न केही समय लाग्न सक्ने भए पनि भ्रष्टाचारविरुद्ध सरकार कडाइका साथ अघि बढ्ने दृढता व्यक्त गरिन्।
“भ्रष्टाचारविरुद्ध चालिने कदमका कारण विभिन्न किसिमका धम्की आए पनि सरकार त्यसबाट पछि हट्ने छैन,” उनले भनिन्, “सुशासनका लागि गरिएको पहलले केही तत्व आतिएका छन्, तर हामी डराउँदैनौँ।”
प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवक कर्मचारीहरूलाई पनि दबाब र डरको कुनै प्रभाव नपारी आफ्नो व्यावसायिक स्वतन्त्रता प्रयोग गर्दै निडर भएर काम गर्न आग्रह गरिन्।