जुम्ला
जुम्लाको सिँजा क्षेत्रमा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको भाडादर अत्यधिक भएको गुनासो गर्दै स्थानीयवासीले भाडा सस्तो र शुलभ बनाउन माग गरेका छन् । सिँजा क्षेत्रका हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकाका नागरिकले जुम्ला बजारसम्म यात्रा गर्न चर्को भाडा तिर्नुपर्दा ठूलो समस्या भोग्दै आएका हुन् ।
स्थानीयले गाडीभाडा चर्को भएको भन्दै प्रमुख जिल्ला अधिकारी प्रदीप पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सिँजा क्षेत्रका नागरिक अगुवाहरू जिल्ला प्रशासन कार्यालयमै पुगेर सार्वजनिक यातायात व्यवसायीले मनपरी ढङ्गले भाडा असुल्दै आएको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
जुम्ला निर्वाचन क्षेत्र प्रदेश (ख) का नागरिकद्वारा बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ– विकासको मेरुदण्डका रूपमा रहेको सडक सञ्जाल, कर्णाली राजमार्ग पक्की भइसकेको, नाग्म–गमगडी सडकका धेरै भाग पक्की, पिसिसी र ग्राभेल भइसकेको तथा अन्य पालिकालाई जोड्ने सडकमा समेत सहज रूपमा यातायात सञ्चालन भइरहेको अवस्थामा पनि जुम्लामा चल्ने सार्वजनिक यातायात व्यवसायीले मनपरी तरिकाले कहिले भाडा बढाउने र कहिले घटाउने गर्दै चर्को भाडा असुल्दै आएका छन् ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकारको ऐन, नियम तथा कार्यविधि बमोजिम जुम्ला भित्र सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनको भाडादर तत्काल तोक्न र कार्यान्वयन गर्न अनुरोध गरिएको छ । यात्रुहरू बाध्यताले, समस्याले र रहरले यात्रा गर्ने भए पनि सबै यात्रु चर्को भाडाका कारण अत्यन्तै मर्कामा परेको उल्लेख गरिएको छ ।
स्थानीय हर्षबहादुर शाहीले भाडादर सरकारी मापदण्डअनुसार कायम हुनुपर्ने माग गरेका छन् । उनले पछिल्लो समय सडकको अवस्था क्रमशः सुधार हुँदै गएको र इभी गाडीसमेत सञ्चालनमा आइसकेको अवस्थामा पनि भाडा घटाइन नसकिएकोप्रति असन्तुष्टि जनाए ।
त्यस्तै स्थानीय प्रयोग आचार्यले पनि सरकारको नियमानुसार भाडादर निर्धारण हुनुपर्नेमा जोड दिएका छन् । उनले यो विषयमा सम्बन्धित पक्षबीच शीघ्र छलफल अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रदीप पौडेलले दुई वर्षअघि यो विषयमा एउटा समिति गठन गरिएको जानकारी दिँदै उक्त समितिको बैठक बसालेर पुनः छलफल गर्न सकिने बताए । उनले आइतबार बिहान ११ बजे यस विषयमा छलफल गर्ने प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेल जुम्ला आएको करिब दुई हप्ता भएको छ भने नागरिकले नयाँ प्रमुख जिल्ला अधिकारी समक्ष विभिन्न सवालमा सुझाव दिँदै आएका छन् ।
स्थानीयका अनुसार हाल जुम्ला बजारदेखि नाग्मसम्म चार सय रुपैयाँ, सिँजाको नराकोटसम्म सात सय रुपैयाँ तथा गुठिज्यूला पुग्न आठ सयदेखि नौ सय रुपैयाँसम्म भाडा लिने गरिएको छ । नागरिकले चर्को भाडा तिरेर यात्रा गर्नुपरे पनि यस क्षेत्रका राजनीतिक अगुवा, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा सम्बन्धित निकायले यस विषयमा कहिल्यै गम्भीर ध्यान नदिएको स्थानीयको गुनासो छ । सिँजा क्षेत्रका नागरिक महँगो गाडीभाडा तिरेर यात्रा गर्न बाध्य भएका छन् ।