काठमाडौँ ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत ४३ वटा राजनीतिक दल सहभागी नहुने भएका छन् । ती दलले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि आवश्यक दल दर्ता निवेदन नै पेश नगरेका निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार हाल देशभर दर्ता भएका दलको संख्या १४३ पुगेको छ । तीमध्ये १०० दलले मात्र समानुपातिक निर्वाचनमा सहभागी हुनका लागि तोकिएको समयसीमाभित्र निवेदन दिएका छन् । बाँकी ४३ दल भने समानुपातिकतर्फ प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
निर्वाचन आयोगले मंसिर २१, २२ र २३ गतेलाई समानुपातिक प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको थियो । निर्धारित अवधिभित्र प्राप्त भएका निवेदनको अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको छ ।
आगामी पुस १३ र १४ गते दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ । सोहीअनुसार माघ ४ गते प्रारम्भिक सूची प्रकाशित गरिने र त्यसउपर दाबी–विरोध तथा उजुरीको छानबिनपछि माघ २० गते अन्तिम बन्दसूची सार्वजनिक गरिने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा गठनका लागि २७५ सदस्य चयन हुने व्यवस्था रहेको छ । तीमध्ये १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० सदस्य समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चयन गरिनेछ । प्रत्यक्षतर्फ भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यसूची तय गरिएको छ ।