सिँजामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सांस्कृतिक कार्यक्रमसहित सम्पन्न
सिँजामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सांस्कृतिक कार्यक्रमसहित सम्पन्न
    • उमेश बुढा

    • २४ मंसिर २०८२, बुधबार

जुम्ला

सिँजा गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सञ्चालन गरिएको १६ दिने अभियान विभिन्न जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ।

सिँजा गाउँपालिकाका कार्यवाहक अध्यक्ष सुरथ रावतसहित विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा अभियानको औपचारिक समापन गरिएको हो। विश्वभर नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यस अभियानअन्तर्गत सिँजा गाउँपालिकामा पनि विविध कार्यक्रम सम्पन्न गरिएका थिए।

प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ अभियान समापन गरिएको हो। समापन कार्यक्रममा कार्यवाहक अध्यक्ष रावतले लैङ्गिक हिंसाको अन्त्य आफ्नै घरबाट सुरु गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो। महिला र पुरुषबीच रहेको असमानता न्यूनीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै उहाँले लैङ्गिक हिंसाका विभिन्न रूपले समाजमा द्वन्द्व सिर्जना गर्ने बताउनुभयो।

दिवसमार्फत हिंसा न्यूनीकरण, जनचेतना अभिवृद्धि, समुदायसँग समन्वय तथा पीडितमैत्री सेवा–सुविधामा पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सिँजा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख बसना बुढाले सामूहिक प्रतिबद्धता बिना लैङ्गिक हिंसा अन्त्य सम्भव नहुने बताउँदै समुदाय, संस्था र सरकारबीचको संयुक्त प्रयासबाट मात्र दिगो परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो। १६ दिने अभियानले समाजलाई संवेदनशील, उत्तरदायी र हिंसारहित बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

महिलामाथि हुने घरेलु तथा सार्वजनिक हिंसा, दुर्व्यवहार, यौनजन्य शोषण, मानव बेचबिखनजस्ता अपराधको रोकथाम तथा पीडितको संरक्षणका लागि विश्वव्यापी रूपमा सञ्चालन हुने यो अभियान नेपालभर पनि विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ। यस वर्षको अभियान डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन समापन गरिएको हो।

समापन कार्यक्रममा स्थानीय भेषभूषामा देउडा ठाडी भाकाका जनचेतनामूलक गीत प्रस्तुत गरिएको थियो। सिँजा गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा र पेस नेपाल तथा सुस्वाको समन्वयमा अभियान सम्पन्न गरिएको हो।

साताकाे चर्चित
सम्बन्धित