नेपाली बक्सर चन्द्र बहादुर थापा मगरले दुबईमा जारी आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। विश्वस्तरको प्रतिस्पर्धामा सेमिफाइनल पुग्ने उनी नेपाली बक्सिङ इतिहासमै दुर्लभ सफलता हासिल गर्ने खेलाडी बनेका छन्।
थापाले राउन्ड–३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० को एकतर्फी अन्तरले पराजित गर्दै यात्रा सुरु गरेका थिए। राउन्ड–१६ मा उनले आर्मेनियाका येगोरियन डेभिटलाई पनि ५–० ले नै पाखा लगाएका थिए। त्यस्तै, क्वार्टरफाइनल (राउन्ड–८) मा इरानका काजेमी मेहदीलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

सेमिफाइनलमा पुगेसँगै थापाले कम्तिमा काँस्य पदक सुरक्षित गरिसकेका छन्। यो उपलब्धिसँगै उनले ७५,००० अमेरिकी डलर पुरस्कार राशि प्राप्त गर्नेछन्। सेमिफाइनल विजयी भएमा उनले १,५०,००० अमेरिकी डलर सहित रजत पदक हात पार्नेछन् भने, स्वर्ण जितेमा ३,००,००० अमेरिकी डलर प्राप्त गर्नेछन्।
यो सफलता तत्कालीन सदस्य–सचिव टंक लाल घिसिङले अघि सारेको मिशन २०२६ अन्तर्गतको दीर्घकालीन तयारी कै उपलब्धिका रूपमा लिइएको छ। जापानमा हुने २०औं एसियाली खेललाई लक्षित गर्दै स्वर्ण सहित दोहोरो अंकका पदकको लक्ष्यसहित यो कार्यक्रम सञ्चालन भइरहेको छ।
थापा सुरु देखि नै Mission 2026 अन्तर्गतको प्रशिक्षणमा छन्। उनी एशियन मेडलिस्ट तथा IBA 3-Star Coach दिपक महर्जनको नेतृत्वमा संचालन भइरहेको राष्ट्रिय प्रशिक्षणमार्फत तयार हुँदै आएका हुन्।
नेपालको खेल इतिहासमा महत्त्वपूर्ण उपलब्धि दिलाएका चन्द्र थापा मगरलाई खेलकुद समुदायले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।