दाङमा बस दुर्घटना: २२ यात्रु प्राथमिक उपचारपछि घर फर्के, चालक नियन्त्रणमा
दाङमा बस दुर्घटना: २२ यात्रु प्राथमिक उपचारपछि घर फर्के, चालक नियन्त्रणमा
    • बेल संचार

    • २५ मंसिर २०८२, बिहीबार

दाङ ।

दाङमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका सबै २२ जना यात्रु उपचारपछि सुरक्षित रूपमा घर पठाइएका छन्। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार दुर्घटनापछि लमही अस्पतालमा प्राथमिक उपचार प्राप्त गरेका घाइतेहरूमध्ये कसैलाई गम्भीर चोटपटक नभएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको यात्रुबाहक बस अचानक सडकबाट तल खस्दै खोलामा पुगेको थियो। दुर्घटनापछि बस चालक अमरगढी–७, डडेल्धुराका ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका यात्रुहरू डडेल्धुरा, कैलाली, बैतडी, प्युठानसहित विभिन्न स्थानका रहेका थिए। प्रारम्भिक विवरणअनुसार बसको पत्ता भाँचिनुले दुर्घटना भएको हुनसक्ने चालकको बयान उद्धृत गर्दै प्रहरीले प्राविधिक समस्या मुख्य कारण हुन सक्ने संकेत गरेको छ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

Messenger_creation_5AEB2598-1374-4D50-B475-1081EADD346F

साताकाे चर्चित
सम्बन्धित