काठमाडौँ
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा विश्व मानव अधिकार दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले अष्ट्रेलियन एड्को सहयोगमा ” हिंसा विरुद्ध हाम्रो अभियान र प्रतिकार ” भन्ने नारा सहित असल र खराब छुवाई सम्बन्धी तालिमको पुनरावलोकन कार्यशाला गोष्ठी यही मङ्सिर २४ गते अर्थात् डिसेम्बर १० तारिका दिन काठमाडौँमा सम्पन्न गरेको छ । सो कार्यशाला गोष्ठीमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी सचिव सृजना के.सी.ले लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान तथा विश्व मानव अधिकार दिवस मनाइरहँदा २४ सै घण्टा अरूको सहयोगको आवश्यकता पर्ने अपाङ्गता भएका व्यक्तिहरूले मानव अधिकारको प्रत्याभूति गर्न नपाएको, उनीहरू विभिन्न हिंसाको सिकार हुन परेको गुनासो गर्दै आगामी दिनमा उनीहरूको आत्म सम्मान सहित मानव अधिकारको प्रत्याभूत गर्न पाउनु पर्ने वातावरण सृजना गर्नका लागि सधैँ अगाडी बढ्ने बताउनु भयो ।
त्यसै गरी यस कार्यशाला कार्यक्रमको आयोजक संस्था डाउन सिण्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापाले कार्यक्रममा मानव अधिकार भनेको मानिसको गाँस, बास र कपास सहितको अधिकार सुनिश्चित हुनु नै मानव अधिकार रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिमा अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारका लागि विभिन्न व्यवस्थाहरू गरिएको बताउनु भयो । साथै उहाँले हिंसा घरबाट नै सुरु हुने र बढी मात्रमा बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका महिलाहरू हिंसाको जोखिममा रहने भएकोले गत वर्ष देखि देशका ११ वटा जिल्लाहरूमा असल र खराब छुवाइको बारेमा जनचेतना मूलक तालिम सञ्चालन गरिने र अहिले सम्म १० वटा जिल्लामा उक्त तालिम सम्पन्न भैसकेको बताउनु भयो ।
साथै उहाँले यस तालिममा सिकेका कुराहरूलाई आमाहरूले समय तालिका बनाएर नियमित रूपमा सिकाइ रहनु पर्ने, यसका लागि तालिममा प्रदान गरिएका सरल सामाग्रीहरू चित्रहरू मार्फत सिकाउँदा अझै प्रभावकारी हुने कुरामा जोड दिनु भएको थियो । सो कार्यक्रममा प्रशिक्षक उमा ढुङ्गानाले तालिममा बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएका छोरीहरूलाई शरीरको अङ्गहरूको पहिचान गर्न, कुन छुवाई राम्रो र कुन नराम्रो, कसले कहाँ छुन हुने कसले नहुने कुराहरू सिकाएको भन्दै असल र खराब छुवाइका बारेमा तयार पारिएको सरल चित्रहरू पनि प्रस्तुत गर्नु भयो भने केही डाउन सिण्ड्रोम तथा बौद्धिक अपाङ्गता भएका बालिकाहरूले यस तालिमबाट सिकेको सीपलाई सही उपयोग गर्दै साथीलाई पनि सिकाउन सक्ने भएको देख्दा खुसी व्यक्त गर्दै आमाहरूले यस तालिममा सिकेका कुराहरूलाई नियमित रूपमा घरमा सिकाउन आग्रह गर्नु भयो ।
त्यसै गरी अर्का प्रशिक्षक महालक्ष्मी घलेले असल र खराब छुवाई सम्बन्धी तालिममा प्रयोग गरिने सामाग्रीहरूको बारेमा बताउँदै असल र खराब छुवाई सम्बन्धी पुस्तक, विभिन्न रङ्गहरू जस्तै पहेँलो घेरामा म, निलोमा मेरो परिवार, रातोमा व्यावसायिक तथा परिचित व्यक्तिहरू र कालो घेरामा अपरिचित व्यक्तिहरू पर्ने भनी प्रस्ट पार्नु भयो । साथै उहाँले पुतलीहरू (डलहरु) को प्रयोग, खुसी र दुःखी को इमोजीहरू, राइट र गलतका चिन्हहरू भएका सामग्रीहरूबाट पनि उनीहरूलाई शरीरको अंगका पहिचान गराउने र असल तथा खराब छुवाइको विषयमा बुझाउने गरिएको बताउनु भयो । यही मङ्सिर २४ गते अर्थात् डिसेम्बर १० तारिका दिन लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा विश्व मानव अधिकार दिवसको अवसरमा डाउन सिण्ड्रोम समाज नेपालले अष्ट्रेलियन एड्को सहयोगमा ” हिंसा विरुद्ध हाम्रो अभियान र प्रतिकार ” भन्ने नारा सहित आयोजना गरेको असल र खराब छुवाई सम्बन्धी तालिमको पुनरावलोकन कार्यशाला गोष्ठीमा सहभागी आमाहरूको समूह विभाजन गरी असल र खराब छुवाई अभियानलाई निरन्तरता दिन के कस्ता कामहरू गर्नु पर्दछ ?, बौद्धिक अपाङ्गता वा डाउन सिण्ड्रोम अपाङ्गता भएका बालिकाहरूलाई असल र खराब छुवाइका बारेमा सिकाउने सरल उपायहरू के के हुन सक्छन् ? र हिंसा हुन सक्ने स्थानहरू कुन कुन हुन भन्ने विषयमा छलफल गरी प्रस्तुतीकरण गर्नु भयो । साथै यश कार्यक्रममा बौद्धिक तथा डाउन सिण्ड्रोम अपाङ्गता भएको बालिकामा घर भित्र , पसलमा, सार्वजनिक स्थानहरुमा विभिन्न हिंसा हुने भन्दै जनचेतना मुलक नाटक पनि प्रस्तुत गरिएको थियो ।