काठमाडौं
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सुरक्षा व्यवस्थापनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले नयाँ परिचालन नीति सार्वजनिक गरेको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरीले निर्वाचनलाई पारदर्शी, निष्पक्ष र त्रासमुक्त वातावरणमा सम्पन्न गराउनका लागि अपनाइने रणनीति र तयारीबारे जानकारी दियो।
प्रस्तुत नीतिअनुसार सशस्त्र प्रहरी सुरक्षाको दोस्रो घेरामा रहेर अन्य सुरक्षा निकायसँग समन्वय गरेर खटिनेछ। प्रत्येक निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीअनुसार बल परिचालन गरिने र निर्वाचनका लागि विशेष अनुशिक्षण तालिम सञ्चालन गरिने नीतिमा समावेश छ। सबै सशस्त्र प्रहरी जनशक्तिलाई खटिनुअघि अनिवार्य रूपमा निर्वाचन सुरक्षा तालिम प्रदान गरिने बताइएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मनिष थापाले आवश्यक सामग्री, सवारी साधन र जनशक्ति सहित निर्वाचन मितिभन्दा एक महिना अघि नै तयारी थालिने जानकारी दिए। उनका अनुसार क्युआरटीमा रहेका फोर्सलाई मतदानअघि एकदिनदेखि मतदानपछिको एकदिनसम्म रणनीतिक स्थानहरूमा हातहतियारसहित परिचालन गरिनेछ।
सुरक्षा व्यवस्थाका लागि प्रदेश र जिल्लागत नक्सा तयार पारेर संवेदनशील स्थान पहिचान गर्ने, आचारसंहिता कार्यान्वयनमा सहयोग गर्ने र समन्वित सुरक्षा योजना लागू गर्ने विषय नीतिमा समेटिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरीले अहिलेसम्काे सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग तथा विपद् व्यवस्थापनका गतिविधि बारे पनि विस्तृत जानकारी प्रस्तुत गरेको थियो।