नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सफलतापूर्वक सम्पन्न
नेपाल कुष्ठरोग निवारण संघको ५३औँ केन्द्रीय सभा सफलतापूर्वक सम्पन्न
    • बेल संचार

    • २८ मंसिर २०८२, आईतवार

काठमाडौँ 

नेपाल कुष्ठरोग निवारण संघ (नेल्रा) को ५३औँ केन्द्रीय सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष डा. रामकुमार श्रेष्ठको सभापतित्वमा आयोजित यस सभामा महासचिव विष्णुलाल श्रेष्ठले २०८१/०८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघका उल्लेखनीय उपलब्धिहरू उजागर गरेका थिए।

सभाको अवसरमा खोकना आरोग्य आश्रमका कुष्ठरोग प्रभावित वृद्धवृद्धाहरूलाई रु. ५ हजार नगदसहित विशेष सम्मान गरिएको थियो, जसले प्रभावितहरूप्रति संघको गहिरो समर्पणलाई झल्काउँछ।

कुष्ठरोगको समयमै उपचार गरे अपांगता हुनबाट बच्न सकिने डा. जिराज श्रेष्ठn] बताए । उनले अझै पनि समाजमा कुष्ठरोग लुकाउने र समयमा उपचार नगर्ने समस्या रहेको उल्लेख गर्दै यसप्रति सचेतना आवश्यक रहेको धारणा राखे । कुष्ठरोग पूर्णरूपमा निको हुने रोग भए पनि भेदभावको डरले लुकाउने प्रवृत्तिले अझै रहेको सभामा सहभागीहरूले बताएका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा डा. गौरीशंकर लाल दासलाई राखिएको थियो ।

संघका प्रमुख उपलब्धिहरूले प्रेरणा दिएको छः

फर्पिङस्थित नेपाल कार्ल गेरोल्ड बाल निकेतन छात्रावासमा कुष्ठरोग प्रभावित ५८ बालबालिका (२८ छात्र र ३० छात्रा) लाई आवास, शिक्षा र अन्य सुविधा प्रदान गरिएको छ। गत वर्षको एसईईमा ६ जनामध्ये ४ ले बी ग्रेड र २ ले सी ग्रेड ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका थिए। हालसम्म ७५५ बालबालिकाले संघको सहयोगमा विद्यालयस्तरको शिक्षा पूरा गरेका छन्।
उच्च शिक्षाका लागि नर्सिङ, आईटी, मेडिकल ल्याब, कम्प्युटर इन्जिनियरिङलगायत विषयमा २६ जनालाई छात्रवृत्ति दिइएको छ। यस कार्यक्रमबाट हालसम्म १८९ जना लाभान्वित भएका छन्।
सामुदायिक विद्यालयमा कुष्ठरोग प्रभावित तथा द्वन्द्वपीडित ५८ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ।

खोकना आरोग्य आश्रममा १३३ जना र पोखरा आश्रममा १३ जना प्रभावितलाई खाद्यान्न, लत्ताकपडालगायत सुविधा उपलब्ध गराइएको छ। ६७ जनाले जीवन निर्वाह भत्ता प्राप्त गरिरहेका छन्।
सामाजिक पुनर्स्थापनाअन्तर्गत १८० घर निर्माण गरी २५८ परिवारका ७०० जनालाई नयाँ जीवन प्रदान गरिएको छ।
प्रतिवेदनमा सरकारी तथ्यांकलाई उद्धृत गर्दै तराई र पहाडका १८ जिल्लामा कुष्ठरोगको प्रकोप बढी रहेको र वार्षिक करिब ३ हजार नयाँ बिरामी फेला पर्ने उल्लेख गरिएको छ। यद्यपि कुष्ठरोग पूर्ण रूपमा निको हुने रोग हो भन्ने सन्देशलाई बलियो बनाउँदै संघले शिक्षा, पुनर्स्थापना र जनचेतनामार्फत निरन्तर योगदान दिइरहेको छ।

संघले नेपाल सरकार, विभिन्न मन्त्रालय, दातृ संस्था र नगरपालिकाहरूलाई सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ। यस सभाले कुष्ठरोग प्रभावितहरूप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न र उनीहरूलाई मुख्यधारमा ल्याउन थप प्रेरणा प्रदान गरेको छ।

साताकाे चर्चित
सम्बन्धित