स्याङ्जाको अर्बकुनामा सुन्तलाखेतीबाट समृद्धि, एउटै समूहले ८७ लाखको कारोबार
स्याङ्जाको अर्बकुनामा सुन्तलाखेतीबाट समृद्धि, एउटै समूहले ८७ लाखको कारोबार
    • बेल संचार

    • १ पुष २०८२, मंगलवार

स्याङ्जा ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–७ अर्बकुनामा सुन्तलाखेती किसानका लागि आम्दानीको मुख्य आधार बन्दै गएको छ । स्थानीय अर्बकुना सुन्तला उत्पादन कृषक समूहले यस वर्ष मात्रै करिब ८७ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरी गाउँमै ठूलो रकम भित्र्याएको छ ।

पहिले कोदो र मकैजस्ता परम्परागत बाली लगाइने जमिनमा सुन्तलालाई नगदेबालीका रूपमा विस्तार गरेसँगै किसानको आम्दानी उल्लेख्य रूपमा बढेको समूहका अध्यक्ष यामबहादुर सेनले बताए । उनका अनुसार हाल समूहमा ३१ जना किसान आबद्ध छन् र सबैले सुन्तलाखेतीबाट न्यूनतम एक लाखदेखि १५ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गरिरहेका छन् ।

“पहिले खान पुग्ने मात्र उत्पादन हुन्थ्यो, अहिले सुन्तलाखेतीले नगद आम्दानी दिन थालेको छ,” अध्यक्ष सेनले भने, “गाउँका अधिकांश घरधुरीले सुन्तलालाई मुख्य बालीका रूपमा अंगालेपछि आर्थिक अवस्था पनि क्रमशः सबल बन्दै गएको छ।”

समूहले गाउँका सबै किसानलाई एउटै छातामुनि आबद्ध गर्दै सुन्तलाखेती विस्तार गरिरहेको जनाउँदै सेनले आगामी वर्षहरूमा उत्पादन र आम्दानी झनै बढ्ने दाबी गरे । उनका अनुसार पुराना बोटबाट नियमित उत्पादन भइरहेको छ भने नयाँ बिरुवा थप्ने काम निरन्तर चलिरहेको छ । “आगामी वर्ष मात्रै एक करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्ने लक्ष्य राखेका छौँ,” उनले थपे ।

यहाँ उत्पादन भएको सुन्तला किसान आफैंले वा समूहमार्फत बजारमा पुर्‍याइन्छ । कतिपय किसानले बगैँचा नै ठेक्कामा दिएर बिक्री गर्ने गरेका छन् भने केहीले फुटकर रूपमा बिक्री गर्छन् । बोटमा लागेको फलको परिमाण हेरेर व्यापारीसँग बोलकबोल गरी मूल्य निर्धारण हुने गरेको छ । यस वर्ष प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्ममा सुन्तला बिक्री भएको समूहले जनाएको छ ।

उत्पादन, आम्दानी र बजार व्यवस्थापनको हिसाबकिताब समूहस्तरमै गरिने गरिएको छ । सामूहिक बैठकमार्फत मूल्य, बजारीकरण र देखिएका समस्या समाधान गर्दै अघि बढ्ने अभ्यासले किसानलाई थप सहज बनाएको अध्यक्ष सेनको भनाइ छ ।

स्वाद र गुणस्तरका हिसाबले स्याङ्जाको सुन्तलाको छुट्टै पहिचान रहेको छ । जिल्लामा सुन्तलाखेतीको सम्भावना र विस्तारलाई लक्षित गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला सुपरजोन सञ्चालनमा छ । विसं २०७३–७४ देखि जोन हुँदै सुपरजोनमा स्तरोन्नति भएपछि सुन्तलाका बगैँचा विस्तारले तीव्रता पाएको स्थानीय किसानहरूको भनाइ छ ।

साताकाे चर्चित
सम्बन्धित