मुक्तिनाथको काखमै ओझेलमा झारकोट, इतिहास र सम्भावना हुँदाहुँदै पर्यटन गुमनाम
मुक्तिनाथको काखमै ओझेलमा झारकोट, इतिहास र सम्भावना हुँदाहुँदै पर्यटन गुमनाम
    • बेल संचार

    • १ पुष २०८२, मंगलवार

मुस्ताङ ।

हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल मुक्तिनाथ मन्दिरसँगै जोडिएको वारागुङ मुक्तिक्षेत्र–१ को ऐतिहासिक झारकोट गाउँ पर्यटनको ठूलो सम्भावना हुँदाहुँदै पनि आज गुमनामजस्तै बनेको छ ।

मुक्तिनाथ मन्दिर नजिकै पर्ने पुराङ रानीपौवा बजार पर्यटकले भरिभराउ भइरहँदा त्यही क्षेत्रको सबैभन्दा पुरानो र बाक्लो बस्ती मानिने झारकोट भने पर्यटन विकासको दौडमा पछाडि परेको स्थानीयको गुनासो छ । मुक्तिनाथको आसपासमा झारकोटसहित पुराङ रानीपौवा, खिङ्गा र छेङ्गु गरी चार गाउँ रहेका छन् । तीमध्ये धार्मिक तीर्थयात्रीको चापका कारण रानीपौवा बजार चहलपहलयुक्त बनेको छ भने झारकोटलगायत अन्य गाउँमा पर्यटकको उपस्थिति न्यून देखिन्छ ।

स्थानीयका अनुसार कागबेनी–मुक्तिनाथ सडक निर्माण हुनुअघि झारकोट गाउँ पर्यटकका लागि मुख्य पैदलमार्ग थियो । सडक नहुँदा मुक्तिनाथ जाने तीर्थयात्री र मनाङ हुँदै थोराङ्ला पास पार गर्ने विदेशी पर्यटक गाउँभित्रको गोरेटो बाटो प्रयोग गर्थे । त्यस समयमा झारकोटको सांस्कृतिक सौन्दर्य, पुराना घर र गाउँजीवन नियाल्दै पर्यटक यहाँ बास बस्ने र स्थानीय व्यापारसमेत फस्टाउने गरेको थियो ।

तर सडक सञ्चालनपछि पर्यटक सिधै सडकमार्ग प्रयोग गर्न थालेपछि झारकोट गाउँभित्रको पुरानो पदमार्ग सुनसान बनेको छ । पछिल्लो करिब एक दशकदेखि गाउँका गल्ली र गोरेटो स्थानीयको आवतजावतमा मात्र सीमित भएका छन् ।

स्थानीय धेचआङ्मो गुरुङका अनुसार प्रचारप्रसारको अभाव र युवाशक्ति विदेश पलायन हुँदा झारकोट पर्यटनबाट लाभ लिन नसक्ने अवस्थामा पुगेको छ । “दिनहुँ हजारौँ तीर्थयात्री हाम्रो गाउँछेउको बाटो हुँदै जान्छन्, तर गाउँभित्र पस्दैनन्,” उनले भनिन्, “हामी हेरेको हेर्यै हुन्छौँ ।”

झारकोटमा करिब ६० घरपरिवार बसोबास गर्छन् । पहिले गाउँमै रहेका युवायुवती रोजगारी र आम्दानीको खोजीमा अहिले युरोप र अमेरिकालगायत मुलुकमा पुगेका छन् । अहिले गाउँमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या बढी रहेको स्थानीयको भनाइ छ ।

यहाँका बासिन्दा मुख्यतया आंशिक खेतीपाती र पशुपालनमा निर्भर छन् । केहीले याक र घोडाको व्यापार गर्छन् भने पछिल्लो समय मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्रीलाई घोडा चढाएर आयआर्जन गर्ने चलन बढ्दै गएको छ । तर वार्षिक खेतीपातीले मात्र जीवन धान्न कठिन भएपछि वैकल्पिक रोजगारीको खोजी गर्नुपरेको स्थानीय बताउँछन् ।

झारकोट गाउँ ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ सदियौँ पुरानो झारकोट राजाको साढे तीनतले दरबार, झार छोदे गुम्बा, विशिष्ट अन्त्येष्टि संस्कारको परम्परा, गुरु पद्मसम्भवका पाइलाको डोब रहेको गुरु सेप्ची क्षेत्र तथा ढुङ्गा–माटोले बनेका पुराना घर आज पनि सुरक्षित छन् । गाउँमाथि अवस्थित तोराताल र वरपरको प्राकृतिक बनावट पनि आकर्षणको केन्द्र हो ।

वडाध्यक्ष प्रमेश गुरुङका अनुसार पछिल्लो समय गुम्बा संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरे पनि समग्र गाउँलाई पर्यटनसँग जोड्ने दीर्घकालीन योजना आवश्यक छ । “इतिहास, संस्कृति र प्रकृति सबै छ, अब त्यसलाई चिनाउने पहल भए झारकोट फेरि चलायमान हुन सक्छ,” उनले भने ।

मुक्तिनाथजस्तो विश्वप्रसिद्ध तीर्थस्थलको छेउमै रहेर पनि झारकोट गाउँ अझै पहिचान खोजिरहेको छ । उचित प्रवर्द्धन, पूर्वाधार र युवाको सहभागिता जुट्न सके झारकोट मुस्ताङकै महत्वपूर्ण पर्यटन गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।

साताकाे चर्चित
सम्बन्धित