चितवन ।
नेपाल सरकारले मित्रराष्ट्र कतारलाई उपहारस्वरूप प्रदान गर्न लागेको दुईवटा हात्ती भैरहवा पुर्याइएको छ । ती हात्तीलाई बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाउने तयारी गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका सात वर्षे रुद्रकली र छ वर्षे खगेन्द्रप्रसाद आज बिहान करिब ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार हाल हात्तीलाई विमानस्थल नजिकैको सुरक्षित खुला स्थानमा राखिएको छ । सोमबार सौराहाबाट बिदाइ गरिएका ती हात्तीलाई विशेष खोरमा राखेर ट्रकमार्फत भैरहवा ल्याइएको थियो ।
वन तथा वातावरण मन्त्रालयका सचिवसहित राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीहरूले बुधबार भैरहवामै औपचारिक रूपमा कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी हात्तीलाई कार्गो विमानमार्फत कतार पठाइने जनाइएको छ ।
रुद्रकली हात्ती पूजाकलीकी छोरी हुन् भने खगेन्द्रप्रसाद कोशीकलीको बच्चा हो । दुवै हात्तीका बाबु जङ्गली भाले हात्ती रोनाल्डो रहेको निकुञ्जले जनाएको छ । खोरसोर प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरू रोनाल्डो, ध्रुवे र गोविन्देजस्ता जङ्गली भाले हात्तीको सहवासबाट गर्भवती हुने गरेका छन् ।
सरकारको निर्णयअनुसार आवश्यक प्राविधिक, प्रशासनिक र कूटनीतिक प्रक्रिया पूरा गरी हात्ती उपहारस्वरूप पठाउन लागिएको हो । यसअघि नेपालले विभिन्न मुलुकलाई एकसिङ्गे गैँडा लगायतका वन्यजन्तु उपहार दिँदै आएको भए पनि हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको यो पहिलो पटक हो ।
वन्यजन्तु उपहारमार्फत दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको सरकारी निकायको भनाइ छ ।