झापामा हिउँदे बालीका लागि मल पर्याप्त, बिर्तामोड शाखामा दैनिक २०० मेट्रिक टन आपूर्ति
झापामा हिउँदे बालीका लागि मल पर्याप्त, बिर्तामोड शाखामा दैनिक २०० मेट्रिक टन आपूर्ति
    • बेल संचार

    • १ पुष २०८२, मंगलवार

झापा ।

कृषि सामग्री कम्पनी लिमिटेडको बिर्तामोड शाखाले यस वर्ष हिउँदे बालीका लागि रासायनिक मलको कुनै अभाव नहुने स्पष्ट पारेको छ । शाखाका अनुसार मागअनुसार मल आपूर्ति भइरहेकाले किसानलाई ढुक्क भएर खेती गर्न आग्रह गरिएको छ ।

शाखा प्रमुख दीपककुमार राजवंशीले जानकारी दिएअनुसार कार्यालयमा दैनिक करिब २०० मेट्रिक टन मल भित्रिने गरेको छ भने सोही परिमाणमा किसानलाई बिक्रीवितरण पनि भइरहेको छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाबाट १३ हजार ४०७.२७५ मेट्रिक टन मल बिक्री भइसकेको छ ।

राजवंशीका अनुसार चालु आवमा हालसम्म १२ हजार ९५३ मेट्रिक टन मल शाखामा प्राप्त भइसकेको छ । यसका अतिरिक्त अघिल्लो आर्थिक वर्षबाट बाँकी रहेको ८७३ मेट्रिक टन मलसमेत मौज्दात रहेको छ ।

शाखा कार्यालयको विवरणअनुसार चालु आवका पाँच महिनामा युरिया ७ हजार ७५३.२० मेट्रिक टन, डिएपी ५ हजार ३४९.६५ मेट्रिक टन, पोटास २७३.३५ मेट्रिक टन र कृषि चुन ३१.०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ ।

हाल शाखामा युरिया १ हजार १०० मेट्रिक टन, डिएपी ६ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले बताए । उनका अनुसार युरिया प्रति बोरा ८०८ रुपैयाँ ५० पैसा, डिएपी प्रति बोरा २ हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रति बोरा १ हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रति बोरा २१५ रुपैयाँमा बिक्री भइरहेको छ ।

कम्पनीले समयमै मल उपलब्ध गराइरहेकाले यस वर्ष झापामा हिउँदे बाली उत्पादनमा असर नपर्ने अपेक्षा गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित