मन्त्रालय भागवण्डाप्रति असन्तुष्ट जनमत पार्टी, मधेश सरकार छाड्ने चेतावनी
मन्त्रालय भागवण्डाप्रति असन्तुष्ट जनमत पार्टी, मधेश सरकार छाड्ने चेतावनी
    • बेल संचार

    • १ पुष २०८२, मंगलवार

जनकपुरधाम।

मधेश प्रदेश सरकारमा आफूले रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ। पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै आवश्यक परे सरकार छाड्न तयार हुनुपर्ने बताएका छन्।

मन्त्री परिषद् विस्तारका क्रममा सोमबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ। यसअघि विनाविभागीय मन्त्री रहेका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो।

यसै मन्त्रालयको जिम्मेवारी अघिल्लो कार्यकालमा जनमत पार्टीबाट सम्हालिसकेका कुशवाहाले अहिले मधेश प्रदेश सरकारमा पार्टीको भूमिका कमजोर बन्दै गएको उल्लेख गरेका छन्। उनले चालु आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत १० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने कार्यक्रम समावेश गरिएको स्मरण गराउँदै, भागवण्डाको नाममा मन्त्रालय खोसिँदा ती कार्यक्रम नै अलपत्र पर्ने जोखिम रहेको बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “जनमत पार्टीको उद्देश्यअनुसार सरकारमा प्रभावकारी उपस्थिति सुनिश्चित नभए मधेश प्रदेश सरकारबाट अलग हुन तयार रहनुपर्छ।”

हाल सातदलीय गठबन्धन सरकारमा जसपा र जनमत पार्टीबाहेक अन्य दलहरूले एक–एक मन्त्रालय लिएर सहभागिता जनाइसकेका छन्। जनमत पार्टीले भने अर्थ मन्त्रालय पाएको छ, जहाँ संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्रीको जिम्मेवारीमा छन्।

साताकाे चर्चित
सम्बन्धित