अनियमित मौसमले भोजपुरमा धान उत्पादन घट्यो
अनियमित मौसमले भोजपुरमा धान उत्पादन घट्यो
    • बेल संचार

    • ६ पुष २०८२, आईतवार

भोजपुर ।

यस वर्षको अनियमित मौसमका कारण भोजपुर जिल्लामा धान उत्पादनमा कमी आएको छ। समयमा आवश्यक वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी पानीले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार मौसमको असन्तुलनले रोपाइँ कार्यमै असर पारेको छ। कतिपय स्थानमा ढिलो पानी परेपछि रोपाइँ गर्न नसकिएको र केही क्षेत्रमा अत्यधिक वर्षाले खेत डुबानमा परेर धानबाली नष्ट भएको उनले बताए। “मौसमको अनियमितताले धान खेतीमा निर्भर किसान सबैभन्दा बढी प्रभावित भएका छन्,” बरालले भने।

कृषि ज्ञान केन्द्रका तथ्याङ्कअनुसार गत वर्ष भोजपुरमा ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष भने उत्पादन घटेर ३६ हजार ९९८ मेट्रिक टनमा सीमित भएको छ। त्यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्र खेती विस्तार भएको छ।

बेमौसमी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली आंशिक तथा पूर्ण रूपमा क्षति भएको केन्द्रले जनाएको छ। समग्र जिल्लामा करिब ९६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको थियो।

जिल्लाका सबै स्थानीय तहका तल्लो भूभाग तथा बेँसी क्षेत्र धान उत्पादनका मुख्य क्षेत्र मानिन्छन्। केही उपयुक्त स्थानमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन्। तर यस वर्ष मौसम प्रतिकूल रहेकाले अपेक्षाअनुसार उत्पादन हुन नसकेको किसानहरूले बताएका छन्।

साताकाे चर्चित
सम्बन्धित