पाल्पा ।
सिद्धार्थ राजमार्गअन्तर्गत अत्यन्त जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङमार्गको काम उल्लेख्य रूपमा अघि बढेको छ। हालसम्म आयोजनाको करिब ६५ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।
पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानमा निर्माणाधीन यस आयोजनाअन्तर्गत १ हजार १२६ मिटर लम्बाइको मुख्य सुरुङ खन्ने कार्य पूरा भइसकेको छ। यद्यपि भौतिक प्रगति सन्तोषजनक देखिए पनि वित्तीय प्रगति भने हाल ५६ प्रतिशतमा सीमित रहेको छ।
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्री कुलमान घिसिङले सुरुङमार्ग निर्माणस्थलको स्थलगत निरीक्षण गर्दै आयोजना कार्यान्वयनमा तीव्रता दिन निर्देशन दिएका छन्। उनले आयोजना कार्यालय र निर्माण व्यवसायीबीच बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषय तत्काल समाधान गर्नुपर्नेमा जोड दिए।
निर्माण व्यवसायीले वन क्षेत्रको समस्या र भुक्तानीमा ढिलाइ भएको जनाउँदै १९ महिनाको म्याद थपको माग गरेका छन्। यस सन्दर्भमा मन्त्री घिसिङले निर्णय प्रक्रिया अनावश्यक रूपमा ढिलो हुँदा आयोजना प्रभावित हुने भन्दै समयमै निष्कर्षमा पुग्न आग्रह गरेका छन्।
आयोजनाअन्तर्गत तीनवटा बाइपास सुरुङको निर्माण सम्पन्न भइसकेको छ भने हाल पहुँच सडक, भीर संरक्षण तथा रिटेनिङ वाल निर्माणको काम जारी छ। ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीमार्फत निर्माण भइरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
मुख्य सुरुङमार्गबाट सवारी सञ्चालन सुरु भएपछि पहिरो र ढुङ्गा खस्ने जोखिम न्यूनीकरणका लागि ७ सय ८० मिटर लामो ‘रक सेड’ निर्माण कार्य अघि बढाइनेछ।
नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुहरूले राहत पाउने अपेक्षा गरिएको छ। यसले सिद्धार्थ राजमार्गको यात्रा सुरक्षित, सहज र छिटो बनाउनुका साथै सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउने विश्वास गरिएको छ।