कक्षा १२ को परीक्षा आवेदन खुला, नियमित र आंशिक दुवै विद्यार्थीले फाराम भर्न सक्ने
कक्षा १२ को परीक्षा आवेदन खुला, नियमित र आंशिक दुवै विद्यार्थीले फाराम भर्न सक्ने
    • बेल संचार

    • ८ पुष २०८२, मंगलवार

काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२/०८३ अन्तर्गत सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन प्रक्रिया सुरु गरेको छ। बोर्डले नियमित तथा आंशिक परीक्षार्थी दुवैका लागि परीक्षा फाराम भर्न आह्वान गरेको हो।

बोर्डद्वारा सार्वजनिक कार्यतालिका अनुसार साधारण शुल्कमा आवेदन दिन चाहने विद्यार्थीले २०८२ साल पुस मसान्तसम्म परीक्षा शुल्क बुझाइसक्नुपर्नेछ। तोकिएको म्यादभित्र शुल्क नबुझाएका परीक्षार्थीले माघ १५ गतेसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यस वर्षको नियमित परीक्षामा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अङ्क ८२ भएका विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन्। त्यस्तै, आंशिक परीक्षातर्फ रजिस्ट्रेसन नम्बर ७९, ८० र ८१ बाट सुरु भएका विद्यार्थीहरू योग्य मानिने बोर्डले जनाएको छ।

नियमिततर्फ आवेदन दिन कक्षा ११ को सैद्धान्तिक विषयमा न्यूनतम ‘डी’ ग्रेड र आन्तरिक वा प्रयोगात्मक विषयमा कम्तीमा ‘सी’ ग्रेड हासिल गरेको हुनुपर्ने सर्त तोकिएको छ। साथै, आवेदन फारामसँगै विद्यालयले प्रमाणित गरेको कक्षा ११ को ग्रेडसिट र रजिस्ट्रेसन कार्डको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

परीक्षा शुल्क प्रति विद्यार्थी ८ सय रुपैयाँ तोकिएको छ भने विलम्ब शुल्कसहित १ हजार ६ सय रुपैयाँ बुझाउनुपर्नेछ। भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, कम्प्युटर विज्ञान तथा होटल व्यवस्थापन जस्ता प्रयोगात्मक परीक्षा हुने विषयका लागि अतिरिक्त शुल्क लाग्ने बोर्डले जानकारी दिएको छ।

प्रयोगात्मक विषयको शुल्कमध्ये केही हिस्सा विद्यालयले आन्तरिक परीक्षकका लागि राखी बाँकी रकम बोर्डको खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। प्रयोगात्मक परीक्षा २०८२ चैत ३० गतेभित्र सम्पन्न गरी प्राप्ताङ्क २०८३ वैशाख १५ गतेसम्म बोर्डमा पठाइसक्नुपर्नेछ।

आंशिक परीक्षाका लागि आवेदन दिने विद्यार्थीले आफूले कक्षा १२ को नियमित परीक्षा दिएको विद्यालयबाटै फाराम भर्नुपर्नेछ। विषय छनोट गर्दा कक्षा ११ मा अध्ययन गरेकै समूह र विषय अनुसार हुनुपर्ने स्पष्ट गरिएको छ, अन्यथा आवेदन स्वतः खारेज हुने चेतावनी बोर्डले दिएको छ।

आवेदन फाराम विद्यार्थी स्वयंले भरेपछि विद्यालयले बोर्डको अनलाइन प्रणालीमार्फत विवरण प्रविष्ट गर्नुपर्नेछ। परीक्षा शुल्क बैंक भौचरका साथै कनेक्ट आईपीएस, ई–सेवा, खल्ती र आईएमई पे जस्ता डिजिटल माध्यममार्फत पनि भुक्तानी गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

RB

साताकाे चर्चित
सम्बन्धित