चितवन ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको देवघाट क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्रका रूपमा घोषणा गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइमा आगामी पुस ११ गते औपचारिक रूपमा उक्त घोषणा गरिने तयारी गरिएको हो ।
तीन स्थानीय तहको सहभागिता र विभिन्न सामाजिक संस्थासँगको सहकार्यमा देवघाटलाई प्लास्टिकमुक्त बनाउने अभियान सुरु गर्न लागिएको क्षेत्र विकास समितिले जनाएको छ । समितिका अनुसार सहमति संस्था, नदीसँग हामीलगायतका संघ–संस्थाको सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।
प्लास्टिकजन्य फोहर व्यवस्थापनलाई व्यवस्थित बनाउन देवघाट क्षेत्रभित्र ३७ स्थानमा फोहर फाल्ने डस्टबिन राखिएको छ । ती डस्टबिनमा प्लास्टिकजन्य सामग्री, पानीका बोतल तथा जैविक फोहर (पात–पत्ती) छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीका अनुसार समितिको कार्यक्षेत्रभित्र पर्ने करिब ५ हजार ४३४ हेक्टर भूभागलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरी दीर्घकालीन रूपमा प्लास्टिकमुक्त बनाउने लक्ष्य लिइएको छ । उनले फोहर व्यवस्थापनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।
नदी सभ्यताको आधार भएकाले नदी र आसपासको क्षेत्र सफा राख्न सबै नागरिक, संघ–संस्था र स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा सहकार्य गर्दै आएको सहमति संस्थाका अध्यक्ष ओमनाथ सुवेदीले देवघाटलाई सफा र प्लास्टिकमुक्त बनाउन सबैको सहभागिता अपरिहार्य रहेको बताए । दाहसंस्कार स्थलबाट निस्कने फोहर व्यवस्थापनमा केही चुनौती रहे पनि सामूहिक प्रयासबाट समाधान सम्भव हुने उनले उल्लेख गरे ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जनचेतना अभिवृद्धि, प्लास्टिक झोला नियन्त्रण तथा स्वच्छता अभियानलाई निरन्तरता दिँदै देवघाटलाई पूर्ण रूपमा प्लास्टिकमुक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।