मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु
मुग्लिनमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल सुरु
    • बेल संचार

    • ११ पुष २०८२, शुक्रबार

मुग्लिन ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित आजदेखि मुग्लिन बजारमा दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिबल आयोजना गरिएको छ। महोत्सव चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा सञ्चालन हुँदैछ।

आयोजकका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन्, जहाँ इच्छाकामना क्षेत्रका सुन्तला उत्पादक किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा बिक्री तथा प्रवर्द्धन गर्न पाउनेछन्। चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

महोत्सव अवधिभर सुन्तलाखेतीसम्बन्धी अनुभव आदान–प्रदान, किसान र जनप्रतिनिधिबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ। साथै, स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा व्यवसायिक सहकार्य विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।

होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइका अध्यक्ष पुजन भण्डारीका अनुसार विश्वभर चिनिएको मुग्लिन बजारमा फुड फेस्टिबल आयोजना हुन लाग्दा स्थानीय होटल व्यवसायी उत्साहित छन्। फेस्टिबलमा थकाली र नेवारी खानाका साथै इच्छाकामनामा उत्पादन हुने रैथाने बालीबाट तयार परिकारको स्वाद लिन सकिनेछ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट यस क्षेत्रका किसानले वार्षिक करिब नौदेखि १० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएको जानकारी दिए। स्वाद र गुणस्तरका कारण यहाँको सुन्तलाको बजार माग उच्च रहेको उनले बताए।

सुन्तलाका बगैँचा संरक्षण र विस्तारका लागि गाउँपालिकाले प्रत्येक वर्ष सुन्तलाका बिरुवा वितरण गर्दै आएको, साथै आधुनिक प्रविधि, सिँचाइ, गोडमेल र उत्पादन व्यवस्थापनमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको अध्यक्ष गुरुङले उल्लेख गरे।

पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवको संरक्षक इच्छाकामना गाउँपालिका रहेको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उत्पादनसँगै क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा समेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित