चितवनका किसानलाई राहत : तरकारीले दियो राम्रो मूल्य, आम्दानीमा सुधार
चितवनका किसानलाई राहत : तरकारीले दियो राम्रो मूल्य, आम्दानीमा सुधार
    • बेल संचार

    • १४ पुष २०८२, सोमबार

चितवन ।

चितवनका किसानहरू यस वर्ष तरकारीको राम्रो मूल्य पाउन थालेपछि उत्साहित देखिएका छन्। अघिल्लो वर्षको तुलनामा बजार भाउ बढेपछि पूर्वदेखि पश्चिम चितवनसम्मका किसानको आम्दानीमा उल्लेख्य सुधार आएको छ।

असोज महिनामा परेको अत्यधिक वर्षाले उत्पादनमा केही असर गरे पनि बजारमा माग बढ्दा किसानले खेतमै राम्रो मूल्य पाउन थालेका छन्। यसले किसानको मनोबल उच्च बनाएको छ।

पूर्वी चितवनको राप्ती नगरपालिका–१ का किसान प्रेमबहादुर खुलाल तीन बिघा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनका अनुसार यसपटक घीउ सिमी प्रतिकिलो १२० देखि १३० रुपैयाँसम्म र गोलभेँडा प्रतिकरेट १६ सयदेखि २६ सय रुपैयाँसम्ममा खेतबाटै बिक्री भइरहेको छ। उत्पादनलाई राम्रोसँग ग्रेडिङ गरेर बजार पठाउन सके अझ राम्रो मूल्य पाउन सकिने उनको अनुभव छ।

त्यस्तै, भरतपुर महानगरपालिका–२१ का किसान शिवराज बरालले सात वर्षदेखि तरकारी खेती गर्दै आए पनि यस वर्ष जस्तो राम्रो मूल्य पहिले कहिल्यै नपाएको बताए। लौका, काँक्रो र गोलभेँडाको माग बढेपछि अहिले व्यापारी आफैं खेतमै पुगेर खरिद गर्न थालेको उनले बताए।

केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीका अनुसार पछिल्ला तीन महिनादेखि तरकारीको मूल्य सन्तोषजनक रहँदै आएको छ। यद्यपि बजारको उतारचढावका कारण यो अवस्था कति समय टिक्छ भन्नेमा किसान अझै सचेत छन्।

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले गुणस्तरीय उत्पादन र उचित व्यवस्थापन गर्न सके किसानले बजार र मूल्यको समस्या भोग्न नपर्ने बताए। उनका अनुसार चितवनमा हाल सात हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भइरहेको छ।

चितवनमा उत्पादित तरकारी अब स्वदेशी बजारमा मात्र सीमित नरही विदेशी बजारसम्म पुग्न थालेको छ। पछिल्लो समय दुबईलगायत केही अन्तर्राष्ट्रिय सहरमा समेत ताजा तरकारी निर्यात हुन थालेपछि किसानमा थप आशा जागेको छ। कार्यालयले किसानको आवश्यकता अनुसार लगानी र प्राविधिक सहयोग विस्तार गर्दै लगेको जनाएको छ।

स्थानीय तथा विदेशी बजार दुवैतर्फ माग बढ्दै जानु र मूल्य सन्तोषजनक रहनुले चितवनका किसानलाई तरकारी खेतीमै भविष्य देख्न थप प्रेरणा मिलेको छ।

साताकाे चर्चित
सम्बन्धित