काठमाडौँ ।
गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गर्दै नयाँ वर्षको सुरुवातका रूपमा आज तमु ल्होसार पर्व मनाइरहेका छन् । ‘ल्हो’ ले वर्ष र ‘सार’ ले परिवर्तन जनाउने भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ, जसलाई गुरुङ समुदायले आफ्नो प्रमुख नयाँ वर्ष पर्वका रूपमा मनाउने परम्परा छ ।
तमु ल्होसार सूर्यको गतिसँग सम्बन्धित पर्व मानिन्छ । गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत क्षेत्रमा सूर्यको ताप चाँडै पुग्ने विश्वासका कारण पुस महिनामा यो पर्व मनाइने गरिएको जानकारहरू बताउँछन् । त्यसपछि क्रमशः तामाङ र शेर्पा समुदाय बसोबास गर्ने क्षेत्रमा सूर्यको ताप ढिलो पुग्ने भएकाले माघ र फागुनमा ल्होसार मनाइने परम्परा रहेको छ ।
पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि दिन लम्बिँदै रात छोटिँदै जाने भएकाले यस दिनलाई विशेष महत्वका साथ लिने गरिन्छ । यही कारण तमु ल्होसार प्रकृति र समयचक्रसँग जोडिएको पर्वका रूपमा लिइन्छ ।
तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । पर्वलाई भव्य रूपमा मनाउन राजधानी काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गुरुङ समुदायका सदस्यहरू परम्परागत तथा सांस्कृतिक पोशाकमा सजिएर सहभागी हुनेछन् भने गुरुङ परिकारहरूको प्रदर्शनी पनि गरिनेछ ।
यसै अवसरमा आइतबारदेखि टुँडिखेलमा ल्होसार महोत्सव सुरु भइसकेको छ, जसमा हजारौँ सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको छ ।