बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा परराष्ट्रमन्त्री शर्मा सहभागी
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा परराष्ट्रमन्त्री शर्मा सहभागी
    • बेल संचार

    • १७ पुष २०८२, बिहीबार

काठमाडौँ।

नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्माले बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भई नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेका छन्।

उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएकी पूर्वप्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको ढाकास्थित समाधिस्थलमा पुगेर मन्त्री शर्माले पुष्पगुच्छा अर्पण गरेका थिए । बङ्गलादेशस्थित नेपाली दूतावासका अनुसार उनले नेपाल सरकार र नेपाली जनताको तर्फबाट अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

अन्त्येष्टिका क्रममा परराष्ट्रमन्त्री शर्माले पूर्वप्रधानमन्त्री जियाका पुत्र तथा बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गरी नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो समवेदना प्रकट गरे । सो अवसरमा उनले खालिदा जियाले बङ्गलादेशको राजनीतिक तथा लोकतान्त्रिक विकासमा पुर्‍याएको योगदान स्मरण गर्दै उनलाई एक प्रभावशाली नेतृका रूपमा उल्लेख गरेका थिए।

जवाफमा तारिक रहमानले अन्त्येष्टिमा सहभागी भई सम्मान प्रकट गरेकामा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै नेपाल–बङ्गलादेशबीचको मित्रता आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरे।

यसैक्रममा परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मुहम्मद युनुससँग शिष्टाचार भेट पनि गरेका छन्। भेटका क्रममा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट पूर्वप्रधानमन्त्री जियाको निधनप्रति समवेदना सन्देश हस्तान्तरण गरेका थिए।

प्रधानमन्त्रीको सन्देशमा खालिदा जियाले आफ्नो प्रधानमन्त्री कार्यकालका दौरान नेपाल–बङ्गलादेश सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको कृतज्ञतापूर्वक स्मरण गरिएको छ । साथै, बङ्गलादेशको विकास, क्षेत्रीय सहकार्य र आपसी समझदारी प्रवर्द्धनमा उनको योगदान सधैँ स्मरणीय रहने उल्लेख गरिएको छ।

प्रमुख सल्लाहकार युनुसले बङ्गलादेशको कठिन समयहरूमा समेत नेपालले देखाउँदै आएको निरन्तर सहयोग र मित्रताप्रति आभार व्यक्त गरे। भेटमा दुवै पक्षले दुई देशबीचको उत्कृष्ट सम्बन्धलाई अझ विस्तार गर्दै व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन तथा जनस्तरको आदानप्रदानका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए।

त्यसैगरी परराष्ट्रमन्त्री शर्माले बङ्गलादेशका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार एमडी तौहिद होसैनसँग पनि भेट गरी व्यक्तिगत समवेदना पत्र हस्तान्तरण गरेका छन्। सल्लाहकार होसैनले अन्त्येष्टिमा सहभागी भएकामा धन्यवाद दिँदै नेपाल सरकारको निरन्तर सहयोगको प्रशंसा गरेका थिए।

साताकाे चर्चित
सम्बन्धित