सिरहा ।
दिनभरि इँट्टा, बालुवा र सिमेन्टसँग जुध्ने हात, रात पर्दा किताब समात्ने आँखा । यही दैनिकीभित्र सिरहाका सत्यनारायण साफीले एउटा असम्भवजस्तै देखिएको सपना सम्भव बनाएका छन् । गरिबी, अभाव र परिस्थितिसँग हार नमानी उनले डाक्टर बन्ने यात्रामा ऐतिहासिक सफलता हात पारेका छन् ।
सिरहाको श्रीपुर गाउँको एउटा जीर्ण झुपडीमा हुर्किएका सत्यनारायणको जीवन संघर्षले भरिएको छ । हुलाकी लोकमार्गबाट केही किलोमिटर भित्र पर्ने यो गाउँमा न्यूनतम सुविधासमेत अभाव छ । यही अभावबीच उनले बाल्यकालमै एउटा ठूलो सपना देखे— डाक्टर बन्ने ।
आमाको दीर्घ टाउको दुखाइको उपचारका लागि अस्पताल धाउँदा उनले नजिकबाट पीडा देखे । बुबा वैदेशिक रोजगारीमा हुँदा आमालाई अस्पताल लैजाने जिम्मेवारी सानै उमेरमा उनका काँधमा आयो । अस्पतालका लामो लाइन, बिरामीको चित्कार र आमाको असह्य पीडाले उनको मनमा एउटा अठोट जन्मायो — “म डाक्टर बन्छु” ।
गाउँकै विद्यालयबाट एसइई उत्तीर्ण गरेका सत्यनारायणले विज्ञान विषय लिएर कक्षा १२ पूरा गरे । एमबिबिएसको तयारीका लागि काठमाडौँ पुगे पनि आर्थिक अभावले तीन महिनामै फर्किन बाध्य भए । त्यही समयमा बुबा पनि वैदेशिक रोजगारी गुमाएर घर फर्किए । परिवारमा पढाइभन्दा पेटको चिन्ता ठूलो बन्यो ।
तर उनले हार मानेनन् । गाउँमै निर्माण मजदुरको काम थाले । दिनभरि मिस्त्रीसँग काम, राति मधुरो उज्यालोमा मेडिकल प्रवेश परीक्षाको तयारी । थकित शरीर, खाली पेट, तर मनभरि सपना ।
“गरिबीले काठमाडौँ छोड्न बाध्य बनायो, तर सपनालाई छोड्न सकेन,” उनी भन्छन् ।
मजदुरीबाट बचेको थोरै पैसाले किताब किन्ने, कतिपय रात भोकै पढ्ने उनको दिनचर्या बन्यो । किताब नै सिरानी, किताब नै ओछ्यान । यही निरन्तर संघर्षपछि उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिए ।
परिणाम सार्वजनिक हुँदा सत्यनारायणले मधेसी दलित आरक्षण कोटाबाट पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि नाम निकाले । पहिलो प्रयासमै आएको यो सफलताले परिवार र गाउँमा खुसी छायो ।
पढाइ निःशुल्क भए पनि आवास, खानपान र अन्य शैक्षिक खर्चको चुनौती अझै बाँकी छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने, बस्ने र पढ्ने खर्च जुटाउन परिवारलाई कठिनाइ छ ।
यहीबीच सत्यनारायणको संघर्ष कथा सामाजिक सञ्जालमा फैलियो । कथा भाइरल बनेसँगै देश–विदेशबाट सहयोगी हातहरू अघि बढ्न थाले । आर्थिक सहयोग, हौसला र शुभेच्छाले उनलाई नयाँ आशा दिएको छ ।
सत्यनारायण भन्छन्,
“मलाई आएको सहयोग केवल पैसा होइन । यो समाजले ममाथि गरेको भरोसा हो । यो ऋण म भविष्यमा सेवा गरेर तिर्नेछु ।”
उनी आफूजस्तै हजारौँ गरिब तर प्रतिभाशाली विद्यार्थीको भविष्यप्रति चिन्तित छन् । राज्यले आर्थिक अवस्थाका कारण कसैको सपना नमारियोस् भन्ने प्रणाली विकास गर्नुपर्ने उनको माग छ ।
सत्यनारायणको सफलताले समावेशी आरक्षण व्यवस्थाको महत्त्वलाई पनि उजागर गरेको छ । पछाडि पारिएका समुदायका युवालाई अवसर दिँदा उनीहरू पनि उत्कृष्ट उदाहरण बन्न सक्छन् भन्ने सन्देश यो कथाले दिएको छ ।
झुपडीमा उम्रिएको एउटा सपनाले आज मेडिकल कलेजको ढोका ढकढक्याएको छ । सत्यनारायण साफी आज केवल एक विद्यार्थी होइनन्, उनी हजारौँ युवाका लागि आशा र अठोटको प्रतीक बनेका छन् ।