देउसीभैलोको पैसाले ताराखेत झिलीमिली, बालबालिकाको पहलमा सडकबत्ती जडान
देउसीभैलोको पैसाले ताराखेत झिलीमिली, बालबालिकाको पहलमा सडकबत्ती जडान
    • बेल संचार

    • २० पुष २०८२, आईतवार

म्याग्दी।

म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतमा बालबालिकाले तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक काममा लगाउँदै सडकबत्ती जडान गरेका छन्।

बालबालिकाको पहलमा बेनी–दरवाङ सडकखण्ड, पदमार्ग तथा मङ्गला गाउँपालिका–३ सातबिसेसँग जोड्ने झोलुङ्गे पुल आसपास १५ वटा सडकबत्ती जडान गरिएको हो। करिब ७० हजार रुपैयाँको लागतमा सम्पन्न यस योजनामा देउसीभैलोबाट संकलित ३५ हजार रुपैयाँ प्रयोग गरिएको स्थानीय युवा अर्जुन पौडेलले जानकारी दिए।

स्थानीय अगुवा, अभिभावक र उपभोक्ताको सहयोगमा योजना सफल भएको बताउँदै पौडेलले देउसीभैलोबाट जुटेको रकम बचत गर्दै समुदायको सुरक्षाका लागि प्रयोग गरिएको बताए।

सडकबत्ती जडानपछि रातको समयमा उज्यालो बढ्दा दुर्घटना न्यूनीकरण, चोरी नियन्त्रण तथा चितुवा जस्ता बन्यजन्तुको गतिविधि कम गर्न सहयोग पुगेको स्थानीयवासीको भनाइ छ। यसले आवतजावत सहज हुनुका साथै बासिन्दाले सुरक्षित महसुस गर्न थालेका छन्।

सडकबत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलका अनुसार उपभोक्ताबाट थप ३५ हजार रुपैयाँ संकलन गरी योजना पूरा गरिएको हो। सडकबत्तीको विद्युत् महसुल तिर्न मासिक रूपमा रकम संकलन गरिने व्यवस्था गरिएको उनले बताए।

शनिबार ९६ वर्षीया स्थानीय बासिन्दा सन्तकुमारी भट्टचनले सडकबत्तीको उद्घाटन गरेकी हुन्। स्थानीय विनोद भट्टचनले ताराखेतका बालबालिका र युवायुवतीको पहल सानो भए पनि प्रेरणादायी र सन्देशमूलक रहेको बताए।

आगामी चरणमा सार्वजनिक स्थानमा फोहर सङ्कलन केन्द्र स्थापना र सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले जानकारी दिए। बेनी–दरवाङ सडकमा पर्ने ताराखेतमा हाल १७ घरपरिवारको बसोबास रहेको छ।

साताकाे चर्चित
सम्बन्धित