विराटनगर ।
तराई क्षेत्रमा शीतलहर र चिसो हावाको प्रभाव बढेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर उपचार खोज्ने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। तापक्रम घटेसँगै जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्यमा समेत नकारात्मक असर देखिन थालेको चिकित्सकहरू बताउँछन्।
विराटनगरस्थित कोशी अस्पतालमा पछिल्ला दिनहरूमा टाउको दुख्ने समस्या भएका बिरामीको चाप बढ्दै गएको छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काका अनुसार जाडो मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रँदा र रक्तसञ्चार प्रणालीमा असर पर्दा टाउको दुख्ने समस्या देखिन्छ।
चिसोका कारण रक्तनली संकुचित हुँदा टाउकोतर्फ पुग्ने रक्तप्रवाह कम हुन जान्छ, जसले गर्दा टाउको भारी हुने, च्यापिएको महसुस हुनेजस्ता लक्षण देखापर्छन्। साथै जाडो मौसममा तिर्खा कम लाग्ने भएकाले पानी कम पिउने बानीले शरीरमा पानीको कमी भई टाउको दुखाइ बढ्ने गरेको डा. खड्काले जानकारी दिए।
विशेषगरी मोटरसाइकल चलाउनेहरू, चिसो वातावरणमा सुत्ने व्यक्ति तथा लामो समय एउटै आसनमा बसेर काम गर्नेहरू यो समस्याबाट बढी प्रभावित भएका छन्। चिसो हावाले घाँटी र काँधका मांसपेशी कडा हुँदा दुखाइ टाउकोको पछाडिबाट सुरु भएर अगाडिसम्म फैलिने गर्छ। साइनस समस्या भएका व्यक्तिमा नाक बन्द हुने, आँखाको वरिपरि दुख्ने र अनुहार भारी हुने लक्षण देखिन्छ भने माइग्रेनका बिरामीमा चिसो मौसमले समस्या झनै बढाउने गरेको छ।
चिकित्सकहरूका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’ को कमी हुन गई मांसपेशी दुखाइ र थकान बढ्न सक्छ। उच्च रक्तचाप भएका व्यक्ति, वृद्धवृद्धा तथा मोबाइल र कम्प्युटरमा लामो समय बिताउनेहरू उच्च जोखिममा रहेको जनाइएको छ। डा. खड्काले सामान्य टाउको दुखाइ भनेर बेवास्ता नगर्न आग्रह गर्दै औषधिले काम नगरेमा, दृष्टि धमिलो भएमा वा ज्वरोसँगै टाउको दुखेमा तुरुन्त चिकित्सकको सल्लाह लिन सुझाव दिएका छन्।
यसबाट जोगिन प्रशस्त पानी पिउने, न्यानो कपडाले घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने र नियमित हल्का व्यायाम गर्ने बानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। खानपान र जीवनशैलीमा सानो सुधारले जाडोयामका यस्ता स्वास्थ्य समस्याबाट बच्न सकिने उनीहरूको भनाइ छ।