जनकपुरधाम, २२ पुस ।
धार्मिक र सामाजिक विषयलाई लिएर दुई समुदायबीच बढ्दो तनावका कारण वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ।
स्थानीय प्रशासनले सोमबार साँझदेखि लागू गरेको कर्फ्यू सोमबार ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मको लागि थियो। त्यसपछि दिउँसो १ बजेसम्म बढाइयो, र अब पुनः साँझ ६ बजेसम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिकाभित्र पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि भेला, सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। आवश्यक परे बाहिर निस्किनुपर्दा नजिकको सुरक्षाकर्मी वा १०० नम्बरमा सम्पर्क गरेर मात्र आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ।